जमाना बाइकको

  • आज मसँग एउटा हैन, दुईदुईटा बाइक छन्। तर केही कामका रहेनन्। मैले बाइक किन्न धेरै नै ढिला गरेछु। किनकि यहाँ जमाना बाइक को सकिएर कार को आइसकेको छ।
  • सिनेपत्र/काठमाण्डौं

     

    युग फेरियो, साल फेरियो, सत्ता फेरियो, शासन फेरियो, फेरिएन त हामी केटाहरुको सोच अनि स्वभाव। कुनै अपरिचित केटीलाई पहिलो भेट्मै  शरीरको सबैभन्दा किम्ती चिज, अर्थात् दिल नै दिएर बस्छौं हामी।

    साँच्चै! मूर्ख हौं हामी केटाहरु। एउटी प्रेमिकाले उसको प्रेमीलाई त्यसै बोलाएकि हैने “बुद्धू” भनेर।

    बदलिँदो समय र बदलिँदो जमाना अनुसार यहाँ केटीहरुको सोच पनि परिवर्तन हुँदै गइरहेको छ।

    “पुरानो जमानाका केटीहरु केटाको हाइट मा मक्ख पर्थे, आजको जमानाका केटीहरू बाइक मा मक्ख पर्छन्।”

    यस्तो भन्ने म हैन, मेरा साथीहरू हुन्। जब केटाहरू भन्छन्, त्यो केटी यस्ती, त्यो केटी उस्ती, तब म थप कुनै प्रतिक्रिया दिन्न। अँ, घतलाग्यो भने चैँ थोरै मुस्कुराइदिन्छु।

    आमा मलाई भनिरहनुहुन्थ्यो “म रजस्वला हुनाले तेरो जन्म भएको थियो छोरा, त्यसैले रजस्वला हुनेहरूलाई अपमान हैन सम्मान गर्नु”।

    म चौध वर्षको हुँदा आमाले म र बुवालाई यो दुनियाँमा छोडेर आफू भगवान कहाँ जानुभएको थियो। र पनि, आमाले भनेका ती शब्द मेरो कानमा अझैपनि गुन्जिरहेका छन्।

    यसकारण पनि कुनै एउटी नारीको बारेमा केही बोल्नुभन्दा पहिला म एकपटक जरुर सोच्छु।

    अक्सर शनिबार र आइतबार, दुईदिनको कलेज बिदाइमा शुक्रबारको दिन क्लास सकाएर म घर फर्किने गर्छु।

    मिति त ठ्याक्कै याद आएन, तर शुक्रबार कै दिन थियो त्यो। म बस स्टप मा बस पर्खिरहेको थिएँ। केही पर पहाडको पछाडिपट्टि घाम मसँग लुकामारी खेल्न खोज्दै थियो। एक हुल बकुल्लाहरु निलो आकाशमा सेतो पोत्दै गुड फर्कदै थिए। सडकको पेटीमा बसेर व्यापार गर्नेहरुलाई आफ्नो सामान उठाउँन ,र ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई थियो।

    म आफ्ना आँखा दायाँबायाँ घुमाउँदै गर्दा, नजर ठ्याक्कै अल्झिन्छ मेरो बायाँ पट्टी, करिब तीन मिटरको दूरीमा उभिरहेकी केटि माथि।

    टिमिक्क शरिरमा मिलेको सेतो र निलो ‘जि.टि.सी’ युनिफम मा थिइ उ। गुलाफी रङको ब्याग पछाडि पट्टी भिरेकि। चौडा निधार, ठुला र लोभलाग्दा आँखा, बाटुलो चेहेरा, चेप्टो-थ्याप्चो नाक, सर्लक्क परेको चिउँडो, हल्का लिपस्टिक पोतिएको पातलो गुलाफी ओठ, सिल्कि अनि हल्का खैरो कपाल कुम भन्दा अलिक तल सम्म झरेको छ।

    म केहीबेर सोच मग्न हुन्छु। र, आफैंलाई भन्छु…  स्वर्गकी परी धर्तीमा, यो कस्तो अनौठो। सायद भगवान बाट भुल भएछ क्यार। स्वर्गमा थियो उसको स्थान, धर्ती पठाइदियो।

    कम्तीमा अबदेखि म बाट कुनै भुल भएमा म गिल्टी फिल गर्ने छैन। किनकि यहाँ गल्ती हामी मान्छेले मात्र हैन, स्वयं भगवानले पनि गर्दोरहेछ।

    बिचरी!। उ प्रति मेरो मनमा दया पलाएर आयो।

    म एकटकले उसैलाई हेरिरहेको थिएँ। उसलाई नहेरी बस्न सक्ने धैर्यता जो म मा थिएन। झुक्याएर ऊ पनि म तिर हेरिदिन्थी। संयोगबस नजर जुध्थे, म लजाउँदै नजर चुँडालेर अन्तै डुलाउँथेँ।

    एउटी अपरिचित केटीसँग बोल्न फगत चाहना भएर नपुग्ने, बाहना चाहिँदोरहेछ। मसँग चाहना मात्र थियो। बाहना नमिल्नुको कारण ऊसँग गएर बोल्ने चाहनालाई गुम्स्याएर म मौन बस्न बाध्य भएँ।

    करिब पाँच मिनेट पछि बस आइपुुग्यो। चाहनालाई आत्महत्या गरेर म बस माथि चढें। सायद यमराजलाई मन्जुर थिएन। किस्मतले दोस्रो मौका दिन खोज्यो। उ पनि म चढेकै बस माथि चढि।

    छप्पर तिर हेरेर “थैङ्क्स गड” भनेर पनि भ्याएको थिइनँ उ त मेरै बगलको सिटमा आएर बसी। मेरो खुशी दोब्बर भयो गड लाई थैङ्क्स मा बोनस थपिदिएँ।

    थाहा भएन, उसले त्यस्तो कुन पर्फ्युम छर्केकि थिइ, जसको बास्नाले पूरा गाडी नै बसाएको थियो। त्यसरी बसाएकि केटी सँग कुम जोडेर सफर गर्न पाउँदा मेरो मन मात्र हैन हातका रौं पनि रमाइरहेका थिए। तर असित मस्तिष्क भने ब्यस्त थियो, यहीँ सोचमा कि अब ऊसँग कहाँबाट कसरी बोल्ने।

    उसले थाहा नपाउने गरि उ तिर पुलुक्क हेरेँ। नजर ठ्याक्कै ढपक्क फुलेको उसको छातीमा गएर ठोक्कियो। “धत्!”, आँखा बन्द गरेर लोभी नजरलाई कैद गरिदिएँ।

    “जि.टि.सी पढ्छौ?” यो प्रश्न उसलाई हैन आफूलाई आफैं थियो। फेरि सेतो र निलो युनिफम लगाएको देख्दादेख्दै जि.टि.सी पढ्छौ भनेर सोध्दा उ मलाई मूर्ख ठान्ली। त्यो प्रश्न क्यान्सल भयो।

    “फस्ट यिअर हौ?” यो प्रश्न पनि आफैंलाई थियो। उ कसै गरि फस्ट यिअर लाग्दैन थिइ। यसपालि पनि म मूर्ख नै ठहरिन्छु।

    उ सुरु गरेर बोल्ली, त्यसको कुनै सम्भावना नै थिएन। फस्ट यिअर हौ भनेर नसोधू, त्यो भन्दा अरु राम्रो कुनै विकल्प थिएन।

    कुनै भूमिका नबाँधि अलिक झुकेर त्यहिँ प्रश्न सोधेँ “फस्ट यिअर हौ?।

    “म फस्ट यिअर स्टुडेन्ट जस्ती लाग्छु?” थोरै मुस्कुराउदै उसले निहुँ खोजी।

    “हैन, हाम्रो कलेजका सबै नेपाली सँग चिनजान नभए पनि एकदुई पटक भने सबैलाई देखेको थिएँ। तर तिमीलाई पहिला कहिल्यै देखेको थिइन र” उसैको शैलीमा स्पस्टिकरण दिएँ।

    “उम्,,, म यो कलेजमा नयाँ हो तर फस्ट यिअर चैँ हैन” निधार तिर लर्केको कपाल कान पछाडि राख्दै उसले भनी।

    “ए” छोटो जवाफ दिएर म चुप भएँ।

    एक्कासी दाइने हात म तिर तेर्स्याउँदै उ बोली “म जयमाला, अनी तिमी?”।

    ह्वाट् अ कोइन्सिडेन्स! उसको र मेरो नाम को फस्ट लेटर एउटै एल्फाबेट बाट सुरु हुँदोरहेछ।

    “जयमाला!” मस्तिष्कले त्यो नाउँ रिमाइन्ड गर्दा मन त्यसै फुरुङग भयो।

    बट व्हाई?।

    आई डौंट नो। मसँग त्यो तर्कको कुनै वितर्क छैन। आखिर प्रत्येक प्रसङ्गमा कारण हुनैपर्छ, यसको जरुरी पनि त हुँदैन।

    फर एक्जाम्पल – प्रेम!। प्रेम कुनै तर्क, उद्देश्य र कारणले बुनिएको हैन, त्यो आफैं आफ हुने चिज हो।

    त्यसो भए एउटा मात्र विकल्प बाँकी छ। के मलाई ऊसँग पहिलो भेटमै प्रेम भएको हो त?।

    “अो हेल्लो, कता हरायौ?”।

    उसको त्यो साबिक भन्दा चर्को स्वरले म फर्किएँ।

    फर्किएँ, यश अर्थमा कि मानौं मेरो आत्मा उसले भनेअनुसार यो देह त्यागेर कतै हराएको थियो। र, अहिले वापस आएर मेरो शरीरमा पुनः प्रवेश गर्यो।

    कोमा बाट भर्खर ब्यूझिएको बिरामी झैं झसङ्गिदै बोलेँ “म जीवन”।

    मलाई पुरेतले दिएको नाम भन्दा बुवाले दिएको थर मन पर्छ। तत्कालै नाम पछाडि थर लएर जोडें “जीवन आचार्य”।

    उ मुसुक्क मुस्काइ। अनि जिस्किन खोज्दै भनी “मलाई अचार खुब मन पर्छ”।

    मलाई उसले मेरो थर बिगारेको मन परेन। नाम बिगारेकि भए हाँसेरै टारिदिने थिए सायद। तर कसैले मेरो थरको मजाक बनाइदिएको थियो, यतिबेला म उसलाई रिवेन्ज नगरी चुप लागेर बसे भने मलाई मेरा कुल र पितृले माफ गर्दैनन्।

    म बाध्य छु या त अन्योलमा छु। मुटुमा काँडा उम्रिएका छन्।

    तर ओठमा फूल सरी मुस्कान छर्दै सोधेँ “अनि तिम्रो थर चैँ के?”।

    “दहाल”। उसको जवाफ भुइँमा खस्न नपाउँदै टप्प टिपेर हावामा उडाइदिएँ।

    “मलाई पनि दाल खुब मन पर्छ”।

    उसले खित्का छोडी। मलाई उसको हाँसो मीठो लाग्यो, थोरै मुस्कुराइदिएँ।

    त्यसपछि सामान्य हुँदै गफ गरियो।

    उ B.Tech सेकेन्ड Civil, म आफू पनि B.Tech सेकेन्ड तर मेजर Archi बताएँ। उसको गन्तव्य यकसक सम्म रहेछ, म येपू सम्म मात्र।

    येपू पुगेपछि नचाहेर भए पनि उसलाई बस माथि एक्लै छोडेर म ओर्लिएँ।

    छुट्ने बेलामा म उसलाई बाई भन्ने वाला नै थिएँ, तर मैले भन्न नपाउँदै उसले भनी “बाई!”।

    उसले मेरै मनको कुरा गर्दा मलाई ऊसँग जिस्किन मन लाग्यो, केही सिरियस हुँदै उसका आँखामा सिधा प्रवेश गरेर भनेँ “नो बाई, आइ वाँना मीट यु अगेन्, सो सी यु”।

    “या! सी यु” मन्द मुस्कान को साथ आँखी भौँ खेलाउँदै उसले भनी।

    त्यो रात निदाउनै सकिनँ। मलाई उसका पातला गुलाफी ओठ, लोभलाग्दा आँखा र छातीमा ढपक्क फुलेका बाटुला आकारहरूको याद आइरह्यो।

    जयाले मेरो दिल सँगै चैन र निन्द्र पनि लिएर गइछे क्यार। लौ! मैले त उसको निक नेम पनि रोजिसकेछु। जया रे, कत्ति राम्रो नाम, दोहोराइ रहुँ जस्तो।

    एकपटक दोहोराएँ “जया”। मन पर्यो। अर्को पटक दोहोराएँ “जया” झनै मन पर्यो। अर्को पटक… अर्को पटक… अनि अर्को पटक। दोहोराउने क्रम जारिरह्यो।

    कतिखेर देखि हो कुन्नि, आमा मेरो छेउमा बसेर मलाई हेर्दै मुसुमुसु हाँसिरहनु भएको रहेछ।

    मलाई लाज लाग्यो। आमाको काखमा मुन्टो राखिदिएर सिरकले मुख छोपें। त्यो रात आमाकै काखमा निदाएछु।

    बिहान म बिउँझिदा भित्तामा हार सहित आमाको तस्बिर अझैपनि मुस्कुराइरहेको थियो। मलाई आमाको तस्बिर सँग नजर जुधाउन पनि लाज लागिरह्यो।

    नास्ता खाँदा बुवा मलाई केही भन्दै हुनुहुन्थ्यो, म कानमा जया जया सुनेर मुस्कुराइरहेको थिएँ। बुवाले मलाई झग्झगाउनु भयो। म झसङ्ग भएर सम्हालिएँ।

    बुवाले आँखी भौँ तन्काउनु भो। मैले मुन्टो हल्लाएँ। बुवा मेरा आँखामा हेर्दै मुस्कुराउनु भयो, मेरो दिल कै कुरा बुझे झैं गरेर।

    म केही नबोली फटाफट कोठा भित्र गएँ। घरमा आफ्नो बिहेको कुरो चल्दा तरुनी लजाएर कोठा भित्र पसे झै।

    अर्को शुक्रबारको दिन पनि जया त्यसै गरि बस स्टपमा भेट भइ।

    त्यस दिन छुट्ने बेलामा, ब्याग बाट मोबाइल झिकेर म तिर हेर्दै उसले सोधि “तिम्रो नम्बर कति हो?”।

    यतिका दिनसम्म मलाई मोबाइलको जरुरत नै थिएन, आज पहिलोपटक आफूसँग मोबाइल नभएकोमा ग्लानि भयो।

    बनावटी मुस्कानको अौपचारिकता सहित मुन्टो हल्लाउँदै भनेँ “मसँग मोबाइल छैन”।

    होस् पनि कसरी, त्यतिबेला हाम्रो बर्मा देशमा एउटा सिम लाई दुई-तीन लाख हालेर किन्न पर्थ्यो। त्यति पैसाले त मेरो कलेजको एउटा सेमेस्टर राम्रोसँग बित्छ।

    मेरो मोबाइल नभएको कारणले पनि होला कलेजमा हाम्रो भेटघाट हुन मुस्किलै पर्थ्यो। शुक्रबार को दिन भने प्रायःजसो बस स्टपमा उ भेट भइरहन्थी।

    मलाई मोबाइल चाहिएको छ। यो कुरा म बुवालाई भन्न सक्दिनँ। मलाई थाहा छ – भन्ने हो भने जेजसो गरेर भएपनि बुवाले मलाई मोबाइल किन्दिनु हुन्छ। आमा नभएता पनि बुवाले मलाई कुनै चिजमा केही कमी हुन दिनुभएको छैन। यसकारण पनि म बुवालाई धेरै सताउदिनँ।

    अचानक एकरात बुवा मेरो कोठामा आउनुभयो। म निदाइसकेको थिएँ। मलाई उठाएर बुवाले मेरो हातमा एउटा बक्स थमाइदिदै भन्नू हुन्छ “ह्याप्पि बर्थडे छोरा”।

    मैले तत्कालै बक्स खोलेर हेरेँ, बकस भित्र मोबाइल थियो Samsaung glaxy s5.

    मेरो खुशीको कुनै सीमा रहेन। बुवालाई अंकमाल गर्दै भनेँ “लव् यु बुवा”।

    “लव् यु टू” बुवाले भन्नुभयो।

    मोबाइल पाएपछि उसको र मेरो भेटघाट बाक्लिन थाल्यो। र, हामी बीचको घनिष्टता बढ्दै गयो। फेसबुक मा रातभर जसो च्याट हुन्थ्यो, मोबाइलमा घन्टौंसम्म बोलिन्थ्यो।

    मलाई लाग्न थालेको थियो, मेरो अँध्यारो जिन्दगीमा रोशनी भर्नका निम्ति भगवानले जयलाई मेरै लागि बनाएको हुनुपर्छ। साच्चै! मेरो जिन्दगीमा प्रकाश पर्दै थियो। तिहारमा दियोमा बलेको दीपले संसारै झिलिमिली बनाए जस्तै, उसको यादले मात्र पनि मेरो अनुहारमा मुस्कान सहित उज्यालो छाउथ्यो।

    सायद बुवाले मेरा मनका कुरा बुझ्नुभए छ होला, आचानक एकदिन झुक्याएर सोध्नुभयो “उसको नाम के हो छोरा?”।

    “कसको बुवा?” म अन्जान बन्न खोजेँ।

    बुवा केही नबोलि मलाई हेरिरहनु भएको थियो, अझभनौं मेरो जवाफ पर्खिरहनु भएको थियो। म ज्यादा बेर टिक्न सकिनँ।

    बेहुला झैं लजाउँदै बोलेँ “जयमाला”।

    मलाई बुवाको प्रतिक्रिया जान्नु थियो। एकटकले बुवाको अनुहारमा हेरिरहेको थिएँ। आफ्नी हुनेवाली बुहारीको नाम सुनेर बुवाको अनुहार उज्यालो भएको महसुस भयो।

    म झन् सुरिएँ “दहाल चल्छ हैन बुवा?”।

    बुवा मुसुक्क हाँसेर चल्छ भन्ने अनुभुती दिनुभयो।
    म पुनः लजाउन बाध्य भएँ।

    बुवाबाट पनि अनुमति मिलेसकेको थियो। अब ढिला गर्नु मलाई ठीक लागेन। एउटा राम्रो अनुकुलता रोजेर मैले उसलाई प्रपोज गरेँ।

    “तिमीलाई जवाफ कहिलेसम्म चाहिने?” त्यतिबेला उसले सोधेकि थिई।

    “तिम्रो मर्जी, आजै भोलि बिहे थोडिन गर्नुछ” मैले जिस्किँदै भनेको थिएँ।

    त्यसदिन देखि बेलुकाको खाना पनि रेस्टुरेन्टमा हामी सँगै खान लागेका थियौं। खाना खाँदा पैसा आ-आफ्नो तिरिन्थ्यो।

    शुक्रबारको दिन हामी दुवै घर फर्किन्थ्यौं। हुन त कलेज अगाडि बाट नै गाडि मिल्छन्। तर ती गाडि स्वेञ्याउँ सम्म मात्र पुग्थे। यकसक जानलाई फेरि अर्को गाडि चढ्नुपर्छ। त्यसैले हामी सेमुसौका लाइन गाडिमा नचढी मेन रोडसम्म हिड्दै जान्थ्यौं। करिब पच्चीस मिनेट हिँडेर जानुपर्छ। अनि त्यहाँबाट टाउँजी देखि आउने बस रोकेर चढ्थ्यौं।

    बस चढ्दा पनि पैसा आ-आफ्नै तिरिन्थ्यो। हुन त उ मेरी हुनेवाली प्रेमिका हो, कहिले काहिँ खाना खाँदा र बस चढ्दा उसको खर्च पनि मैले भर्दिनु पर्ने हो। तर खै! कुन्नि किन मैले त्यस्तो कहिल्यै गरिनँ।

    म पैसा धेरै फुर्मास गर्दिनँ, तर त्यति कन्जुस भने पटक्कै हैन। एक त परिस्थिति नै त्यस्तै पर्यो। र, अर्को कुरा – उ मेरो जिन्दगीमा पहिलो केटी थिइ, जो सँग म त्यति धेरै नजिकिएको थिएँ। अझ भनौं यी केटीहरुको मामिलामा म अनजान नै थिएँ।

    अँ, हाइ स्पट! उसलाई एकदिन फिल्म देखाउन भने लगेको थिएँ। त्यो पनि केटाहरुले उल्काइदिएर। अनि सिकाएर पठाएका थिए।

    हल भित्र पस्दा उसको हात समाउनु, सँगै बस्दा अँगालो हाल्नु। चलचित्र बोर लाग्दो छैन, र पनि उसले घडीको खिप खोल्ने, बन्द गर्ने या कपाल  खेलाउँने गर्छे भने चरप्प समातेर ओठमा किस गर्दिनु… प्रभृति, अरु पनि धेरै थिए…।

    किरणले त्यसदिन आफ्नो बाइक दिएर पठाएको थियो मलाई। म जयालाई उसको होस्टेल सम्मै लिन गएको थिएँ। सेतो टिसर्ट र कसिलो कालो जिन्स पाइन्टमा थिइ उ। खुट्टामा सेता एडिडास का जुत्ता थिए। त्यो ड्रेसअप उसको कोकाकोला फिगरमा एकदम म्याच भएको थियो।

    मलाई याद छ, त्यस दिन मलाई बाइक सँगै देखेर फुरुङ्गिदै उसले सोधेकि थिइ “बाइक किन्यौ?” भनेर।
    “हैन साथी को हो” मैले मुन्टो हल्लाउँदै भनेको थिएँ।
    मुख उज्यालो बनाएर आएकि उसको अनुहार एक्कासी अँध्यारिएर झन् फुंग उँडेको जस्तो भएको थियो। तर पनि अौपचारिक मुस्कान दिएर उ बाइक पछाडि चढेकि थिइ।

    मलाई केटाहरुले सिकाएर पठाएका फार्मूला सबै याद थियो। तर मैले ती सब केही यूस गरिनँ। गरिनँ भन्दा पनि गर्नलाई ममा त्यति हिम्मत जो थिएन। तर आँखा भने उसको ओठमा गइरहन्थे। उसको ओठ यति रसिलो थियो कि मलाई संसार भुलेरै चुम्बन गरिदिउँ जस्तो लाग्थ्यो।

    म यश प्रसङ्गमा निर्धक्क थिएँ कि, चाँडै नासहि उ मेरो प्रेम प्रस्ताव एक न एक दिन अवश्य स्विकार्ने छे। यसकारण पनि मैले हातर गरिनँ, उ माथि कहिल्यै दबाब डालिनँ।

    सम्भवतः नारी सबैको मन आफ्नी आमाको जस्तै कोमल हुन्छ ठान्नु नै मेरो सबैभन्दा ठुलो भुल र मूर्खता थियो।

    सेकेन्ड सेमस्टर सुरु हुन के पाएको थियो उ एक्कासि म बाट टाढिदै जान लागि।

    बिदाइको दिनहरूमा उ घर फर्किन छोडेकि थिई। अन्लाईन मा पनि खासै भेट्दैन थिएँ। फोन गर्दा भने रिसिभ गरिहाल्थी तर कमै बोल्थी।

    म उसलाई मन पर्दैन थिए त मेरो प्रेम प्रस्ताव टुक्राइदिएकि भए हुन्थ्यो। तर यसरी एक्कासि टाढिनुको मतलब के।

    उसैलाई सोध्छु, अठोटले उसको क्लास सम्म उसलाई पछ्याउँदै गएँ। त्यस दिन उ कलेज आएकि थिइन। साँझपख उसको होस्टेल सम्मै पुगें। होस्टेल अगाडि पुगेर उसलाई फोन गरें। स्वीच अफ बतायो।

    त्यहीँ होस्टेल कि बर्मेनी एउटी केटीसँग मदत मागेर उसलाई बोलाइदिन भनें। करिब पाँच मिनेट पछि जयाको सट्टा उसकी साथी दिप्ती निस्केर आइ।

    दिप्ती सँग पनि मेरो सम्बन्ध राम्रै थियो। जयाले गराएकि थिइ हाम्रो चिनजान।

    दिप्ती मेरो आवाज सुन्न सक्ने रेन्ज भित्र पुग्नासाथ मैले सोधिहालें “जयमाला खै?”।

    “उसलाई सन्चो छैन, किन केही काम थियो र?” मेरो नजिकिँदै उसले भनी।

    “खास त्यस्तो काम केही हैन, अनि के भएको उनलाई?” म अलिक नम्र भएँ।

    “केटी मान्छेको बिमार हो तिमी बुझ्दैनौ”।

    मलाई लाग्यो उसले केही लुकाउन खोजि। म केही बोलिनँ।

    झिसमिसे साँझ परेको थियो। होस्टेल बन्द हुने समय भएछ क्यार। बाइक मा प्रेमिका सँग डिनर गर्न गएका प्रेमिहरु आफ्नी प्रेमिकालाई होस्टेल सम्म छोड्न आएका देखिन्थे। कोही त्यहीँ गेट अगाडि उभिएर एक अर्काको हात समाएर बात गरिरहेका थिए। रूखमा छेलिएर बसेका प्रेमिल जोडिहरू भने प्रेममा तल्लीन थिए।

    म र दिप्ती एउटा कुनाको बेन्चमा बसिरहेका थियौं। सायद अरू देख्नेहरुका निम्ति हामी पनि प्रेमिल जोडि नै देखिन्थ्यौँ होला।

    गेट अगाडि प्रेमिल जोडिहरु पात्लिदै गए। होस्टेल बन्द हुने समय निकट भएर होला।

    “के भन्दिने जयालाई?” बेन्च बाट उठेर म तिर हेर्दै दिप्तीले सोधि।

    म केही भन्न खोज्दै थिए। भन्न नपाउँदै, चर्को आवाजमा एक्कासी एउटा बाइक मेरो सामुन्ने बाट क्रस गरेर गयो। त्यो बाइक मा एक प्रेमिल जोडि थिए। केटाले बाइक होस्टेल अगाडि लएर रोक्यो। केटी बाइक बाट ओर्लेर गेट भित्र जान खोजी। केटाले केटीको हात तानेर आफ्नो सामिप्य खिच्यो। केटी केटाको प्रतिबन्धन बाट मुक्त हुन खोज्दै थिइ, केटाले केटीलाई झुक्याएर ओठमा किस् गरिदियो। केटी लजाउदै केटाको पाखुरामा प्याट्ट पिटी। केटो हाँस्यो। केटी मस्किँदै गेट भित्र गई।

    स्वतः मेरा नजर दिप्तीका नजर सँग जुध्न गए। उसले नाक र निधार दुवै खुम्च्याएर “सरी” भनी।

    “इट्स् ओके!” म त्यति भनेर आफ्नो बाटो लागें।

    म हिँडिरहेको थिए, तर गन्तव्य थिएन। एक्कासि मलाई आफ्नै शरीर भारी महसुस हुन लाग्यो। मेरा खुट्टाहरु लुला हुँदै गए, आँखा तिर मिराउन थाले। र, छिन्मै आँखाबाट आँसुका नदी भेल सरी बगेर गए। म मरेको लास झै भए, फगत मेरो शरिर त्यहाँ थियो प्राण त अघिनै निस्केर गइसकेको थियो।

    हो! मेरो प्राण निस्केर गइसकेको थियो, होस्टेल अगाडि बाइक वाला केटो सँग जसलाई मैले देखेको थिएँ, त्यो केटी अरु कोही नभएर उ नै थिइ, “जयमाला!”।

    कम्तीमा त्यस दिन देखि मलाई पनि लाग्न थाल्यो, सही भन्थे केटाहरु “पुरानो जमानाका केटीहरु केटाको हाइटमा मक्ख पर्थे आजको जमानाका केटीहरु बाइकमा मक्ख पर्छन्”।

    आज मसँग एउटा हैन, दुईदुईटा बाइक छन्। तर केही कामका रहेनन्।

    मैले बाइक किन्न धेरै नै ढिला गरेछु। किनकि यहाँ जमाना बाइक को सकिएर कार को आइसकेको छ।

    अनि जसलाई मैले प्रेम गर्थें उसको पनि बिहे भैसक्यो। त्यो बाइक वाला सँग हैन, कुनै सहरिया एउटा कार वाला सँग।

    “ मलाई माफ गर आमा! ”।

    (लेखक जीवन आचार्य म्यान्मारमा बसोबास गर्नु हुन्छ । )

    Comments
    Related News