उपन्यास ‘तँ’ (तेस्रो यात्रा)

सिनेपत्र/काठमाण्डौं

लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । हामीले उहाँद्धारा रचित चर्चित उपन्यासको दोस्रो अंश पढि सकेका छौँ । आज हामी त्यसैको निन्तरता स्वरुप  तेस्रो अंश प्रस्तुत गर्दैछौ ।

आफ्नै धुनमा काममा मग्न थिए । किताबमा गम लगाउँदै । वरपर कोही छैन्न ।
मोबाइलमा आफैँले लेखेको गीत बजाउँदै छु
रक्सी पिउँछु रक्सी पिउँछु रक्सी पिउँछु म
जिन्दगीका सबै पिर भुली जिउँछु म ।
यही बेला फोन आयो । सेभ नगरेको नम्बर, फोन उठाएँ
‘हेल्लो’
‘हेल्लो ढकाल हो ?’
‘हो ।’
‘म बालाजुबाट’
‘अँ भन्नुहोस्’
‘तेरो गोदामको भाडा आएन भन्दै छन् बुबा ।’
‘भर्खरै दिएको छु त भाडा, यो महिनाको २३ गतेको कार्यक्रमपछि दिन्छु म
भनेको छु त ।’
‘मलाई चिनेको हो नि मेरो पद थाहा छ ?’
‘मलाई थाहा छैन त’
‘कहिले कवाडी ओर्सानेलाई फोन गर्न लगाउँछन् बुढा, कहिले घरको गाह्रो
लाउनेलाई, कहिले भाँडा माझ्ने र लुगा धुनेलाई घरी कसलाई के थाहा अब को हो भनेर ।’
‘म ठूलो छोरो डिएसपी ।’
‘ए अँ चिनेँ ।’
‘डा. साप होइन ।’
‘हो, अब तेरो फोन नम्बर थाहा भइगो जति बेला भेटेर पैसा लिन सक्छु ।’
‘२३ गतेसम्म भेटे पनि पैसा हुँदैन २३ पछि दिन्छु भनेकै छु ।’
‘ल मैले फेरि फोन गर्न नपरोस् ।’
‘म त्यहाँ सात वर्षदेखि बसिरहेको छु कति चोटि फोन गर्नुभयो र तपाईंले
भाडाका लागि ?’
‘एकपल्ट पनि गरिनँ ।’
‘आज किन गरिरहनुभएको छ मलाई थाहा छ ।’
‘बढी नबोल् ।’
‘सुन्नुस् म सापकोटा होइनँ, ढकाल हुँ, लेनदेन आफ्नो ठाउँमा हुन्छ पद र
प्रतिष्ठा अर्को ठाउँमा हुन्छ तर बोलीवचन मिठो र इज्जतिलो हुनुपर्छ ।’
‘ल मैले फोन राखेँ ।’ उसले फोन राखिदियो ।
त्यति बेला मैले झल्झल्ती सापकोटालाई सम्झिएँ । बिचरा उनी पहाडको सबै श्रीसम्पति बेचेर तराई झरे । तराईमा अहिले पनि धेरै बस्ती भएका ठाउँमा ऐलानी नै जग्गा छन् । उनले पनि सस्तो दरमा ऋण धन गरे बुटबलको शङ्खरनगरमा जग्गा किने । त्यही ऐलानी । न पहाडमा न तराईमा अहिले जस्तो पहिले अन्न फल्थ्यो । पछि युरिया र डि. ए. पी मल आउन थालेपछि मात्र अन्न उत्पादनमा वृद्धि भयो । उनले निकै एरिया जग्गा किनेका थिए । पछि त्यो उनको जग्गाको अलिकति हिस्सा बाहेक कित्ताकाट नै गरिसकेको जग्गालाई रूपन्देही वन कार्यलयले अधिग्रहण ग¥यो । उनी त्यत्रो जग्गाका मालिक थोरै जग्गामा खुम्चिनुप¥यो । तब घरपरिवार र इष्टमित्र र साथीभाइको सल्लाहमा मुद्दा दायर गरे जिल्ला अदालतबाट जिते पनि तर पुनरावेदनबाट फेरि मुद्दा उल्टियो र वनकार्यलयले जित्यो । तब यो कुरा भूमाफियाबाट करोडौँ सम्पत्ति जोडेका पूर्वसिडियोको कानमा पुग्यो । मुद्दा लड्न उनले सघाउने भए । तर पूरा सर्त करारनामा गरेर । यदि मुद्दा जितेमा उनलाई साढे २ बिगाहा र उनको डिएससी छोराकी श्रीमतीको नाममा साढे २ बिगाहा पास गरिदिनुपर्ने मुद्दा हारेमा बाँकी जायजेथाबाट असुल गर्ने सर्त राखेर दश लाख दिए । नारायणलाई पनि विश्वास लाग्यो पूर्वसिडियो र डिएसपी नै मेरो मुद्दामा सहयोग गर्दै छन् भने मैले हार्ने कुरा आउँदैन । १५ बिगाहामा ५ बिगाहा गए पनि १० बिगाहा आइहाल्छ भनेर मुद्दा लडे तर नारायणले मुद्दा हारे । तब पूर्वसिडियो र डिएसपीले सापकोटालाई पैसा उठाउन ताकेता गरे । विचरा सापकोटा अत्यधिक तनावले बिमारी नै बने । कलङ्कीमा कोठा लिएर बस्न थाले पूर्वसिडियो र उनकी श्रीमतीले गर्दा त्यो बिमारी अवस्थामा पनि तनावमुक्त हुन पाएनन् । आफू फसिन्छ आफूले अन्याय गरेकै हौँ भन्ने थाहा पाएर सर्त करारनामा कहीँ देखाएनन् तर एउटा कम्प्युटर टाइपिङ र प्रिन्ट गर्ने ठाउँमा त्यो करारनामा सुरक्षित रहेछ । सापकोटा त्यसपछि कता बेपत्ता भए वा पैसा डुबेको झोकमा ती अपराधी चरित्र भएकाहरू मारे ।
यिनीहरूका चक्रव्यूहमा फँसेर विचरा सापकोटाको कन्तबिजोक भयो । घरमा मन्दिर भएर के गर्नु ? मनमा पाप लिएर हिँड्नेहरू ब्वाँसा नै हुन् । त्यही भएर होला शब्दकोशमा एउटा शब्द राखिएको छ नरपशु । झट्ट हेर्दा हाई परसनालिटी भएकाहरू नै यो समाजका नरपशु हुन् ।
आफूभन्दा तलका मानिसलाई सधैँ यिनीहरूले पशुवत् व्यवहार नै देखाउँछन् ।
मनमा यिनै कुरा खेलाउँदै म काममा नै छु । किताबहरूमा कभर लगाइरहेको छु । भुत्ला उखेलेका चरा जस्ता देखिने बिना कभरका किताबहरू कभर लगाइसकेपछि साह्रै सुन्दर र लोभ लाग्दा देखिन्छन् ।
त्यही बेला साहुजी आइपुगे र बोले, ‘ढकाल तँलाई एक्लै काम गर्न अल्छी लाग्दैन ? ‘काम भनेको एक्लै गर्ने नै हो जब यी हातले उत्पादन गर्न सकिन्छ अनि उत्पादित सामानमा आँखा लगायो कति धेरै पो आनन्द आउँछ । अनि तपाईंलाई थाहा नै होला म कहाँ जन्मेको मान्छे ।’
‘के भोजपुरमा जन्मेका सबै मिहिनेती हुन्छन् ?’ उसले प्रश्न ग¥यो ।
‘कोही कोही नहोलान् तर अधिकांश चाहिँ मिहिनेती हुन्छन्, मलाई जब काम धेरै थुप्रिन्छ तब म यो शहरको बसेर कोठाभित्र गर्ने काम सम्झिन्न ।
वैशाखको चर्को घाममा टारबारीका एकहोरा मकै गोडेको सम्झन्छु तब मलाई यी काम थोरै लाग्छन् ।’ मैले जवाफ दिएँ ।
‘भनेपछि गाउँमा धेरै कोदालो चलाइयो ?’ उसले प्रश्न ग¥यो ।
‘चलाइयो दाजु, आखिर त्यो कर्मले अझैसम्म साहस चाहिँ जीवित नै राखेको छ ।’ मैले जवाफ दिएँ ।
‘यो बाँकी रहेको सबै सकेर जाने हो ?’ उसले सोध्यो ।
‘हो, दाजु बिहान आउन पाइन्न एक छिन भए पनि अफिस खोल्नैप¥यो ।’ मैले बोलेँ ।
‘ल म पनि हिँडेँ अपरेटरहरूले काम सकेर गइहाले ।’ उनी उठ्दै बोले ।
‘ए जाँदा चाबी लगाइदिएर जाऊ है ।’ उनले जाँदै गर्दा फेरि बोले । मैले
मुन्टो हल्लाएँ ।
यसो घडी हेरेँ ५ बजिसकेछ । झन कामको स्पिड बढाएँ । करिब आधा घण्टामा काम सकाउँछु भनेर ठुलो ठूलो चाङ बनाएर गम लगाउन थालेँ । त्यही बेला फेरि मोबाइल बज्यो । फोन उठाएँ
‘हेल्लो ।’
‘ढकाल हो ?’
‘हो, म बालाजुबाट तपाईं भोलि बिहान बालाजु आउनुप¥यो, म गाह्रो लाउने मिस्त्री ।’
‘म आउँन भ्याउँदिनँ २३ गतेसम्म बिजी छु ।’
‘तपाईं आएर तपाईंको गोदाम खोलिदिनुप¥यो । नापेर घर माथि बढाउनु
प¥यो घरबेटी बाले भनेको ।’
‘हाइटेन्सन लाइनमुनि छ त्यो घर । अर्को तला थप्नै मिल्दैन त ।’
‘मिल्छ घरबेटीबाले भनेको अहिले यो वडाको वडाअध्यक्ष घरबेटी बाको ज्वाइँ बनेका छन् त्यसैले मिल्छ ।’
‘म २३ गते पछि मात्र आउँछु । त्यहाँ भन्दा अघि आउँन भ्याउँदिन । घरबेटीलाई त्यही भन्दिनु ।’
‘खै तपाईं कुरै बुझ्नुहुन्न ।’ ऊ फोनमा च्याँठियो ।
‘मैले सबै बुझेको छु घरबेटीको ज्वाइँ वडा अध्यक्ष पनि थाहा छ । नक्सा पास गर्ने ठाउँ नि वडा नै हो । तर पनि म २३ गते अगाडि आउन भ्याउँदिन ।’ मैले यति भनेपछि उसले फोन काट्यो । म आफ्नो काममा लागेँ । काम गर्दै मनमनै सोचेँ यो बुढाले सिडियो हुँदा कस्तो न्याय दियो । दुई दुई विषयमा एम.ए गरेका मान्छेको बुद्धि । ज्वाइँ पावरमा भए भन्दा पनि हाइटेन्सन मुनि घर बनाउँनु हुँदैन भन्ने त थाहा छ नि । यस्तै अगुवाले भाँडेर, नियम कानुन नमानेर हाम्रो देशको प्रगति नभएको हो । हुन त ऊ आफू त्यहाँ बस्ने होइन, कुनै गरिबको छोराछोरी नै त त्यहाँ दुर्घटनाको सिकार बन्ने हुन् । ज्वाइँ जनप्रतिनिधि र छोरो डिएसपी भएपछि गरिब मरेको कुरा कसले थाहा पाउँछ ? यदि कसैले थाहा पाइहाले पनि बोल्ने आँट कसको ? रावणको झैँ अहङ्कार भयो, पूर्वसिडियोले अरूलाई मान्छे नै नदेख्ने भो । एक्लै छ छोराबुहारीले एक छाक पकाएर खान दिँदैनन् । तैपनि उसमा चेत र चेतना आएको छैन । गरिब मारेर थुपारेको धनले एक दिन त पोल्ना नि कि पोल्दैन यो दुष्टलाई । ज्वाइँले राजनीति गर्दा सधैँ गुन्डा जस्तो भएर हिँड्छ भनेर ज्वाइँ नै ससुराली आउँदैनथे तर ज्वाइँले जित्नासाथ त्यत्रो फुर्ती कतै ज्वाइँको राजनीति नै त सिध्याउँदैन बुढाले ? जे भए नी ज्वाइँ त समाजसेवी र परोपकारी हुन् । मनमा यस्तै हजारौँ तर्क खेले । मैले निरन्तर काम गरिरहेँ । किनकि मलाई यही कामले चिनाएको छ । त,ँ तिमी जे भए नि म यही कामले छु । फटाफट गम लगाएँ । साढे छ बजे पूरै काम सकियो । ढोका बन्द गरँे । साहुलाई चाबी जिम्मा लगाएर गंगबुँ जाने गाडी कुर्न थालेँ । गाडी प्याक आयो नचढौँ भने अर्को कहिले आउँछ आउँछ । गाडीमा कोचिएर उभिएँ । तिलगंगा आएपछि बल्ल सिट पाएँ । सिटमा बसेर आफैँलाई गाली गरेँ— देखिस् नि,
तैँले रोजेको सम्मानित पेसा, आफैँले निम्त्याएको दुःख न हो । गाडीमा
गीत बजिरहेको छ ।
प्रेम बिना यहाँ हाँस्दैन मान्छे
बिना प्रेम यहाँ बाँच्दैन मान्छे ।
आफ्नो पेसाप्रतिको प्रेमले म बाँचिरहेको छु, म हाँस्ने प्रयास गरिरहेको छु । क्रमश ः

आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को दोस्रो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।

Comments
Related News