उपन्यास ‘तँ’ (पाँचौ यात्रा)

सिनेपत्र/काठमाण्डौं
लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । हामीले केहि समयदेखि उपन्यास ‘तँ’ लाई सिनेपत्रबाट प्रकाशन गर्दै अइरहेका र्छौ । सोहि उपन्यासको बाँकी अंश अबको क्रममा,
बिहानै अफिस पुगेँ । लेखेको जति टाइप सक्नुप¥यो तँ को भनेर । पुग्नासाथ हेमन्त टुप्लुक्क आइपुग्यो । साथी आएपछि चिया पिउँन अफिस बन्द गरेर लागियो । मैले चिया पिउँने बेलामा सारा आफुलाई घटेको कुरा सुनाएँ । डिएसपीले आदेश दिँदैमा हुन्छ र म नौ बजे चौकी आउँछु हजुर पनि आउनुहोस् । अनि त्यो घरबेटी भात खाने हो कि आची खाने रहेछ, अर्काको कोठामा ताला लगाउन दिने । फटाहा र बदमास त्यहाँ घरबेटी हो । ऊ मानिस नभएर पशु हो । ठिकै छ तपाईंलाई त त्यति ग¥यो तर एउटा कुरा याद गरिरहनुहोस् त्यस चण्डालले मर्ने बेलामा मानवजातिबाट एकथोपा पानी नि पाउँदैन । चिन्ता नलिनुस् पुलिसले गरेन केही भने हामी पत्रिकामा जाने । उसले मेरो आत्मबल बढाइएदियो । चिया पिएर ऊ लाग्यो । म अफिसमा आएँ । अफिसमा आउनासाथ दमन्ता आइपुगी र बोली, ‘प्रकाशक ज्यू चाणक्यनीति सकियो त टाइपिङ ?’
‘बल्ल अस्ति कार्यक्रम सकियो । हिजो लफडामै दिन बित्यो, बालाजुको समस्या सकिएपछि मात्र थाल्छु ।’ मैले बोलेँ ।
‘बुढाले त तपाईंलाई गल्ती भन्छ नि, उसको कुरा सुनेर म पनि तपाईंको भन्दा बुढाकै कुरा सही मान्न थालेँ ।’ उसले बोली ।
‘ठिकै छ त्यो आ–आफ्नो सोच हो ।’ मैले भनेँ ।
‘तपाईंलाई बालाजु छोड्न सक्नुहुन्छ जस्तो लाग्छ त ?’ उसले प्रश्न गरी ।
‘छोड्छु सहज हुने ठाउँमा अप्ठेरो होला ।’ मैले जवाफ दिएँ ।
‘बुढाले तपाईंलाई छाड्न दिँदैन, जसरी हुन्छ तपाईंलाई अल्झाएर राख्ने
उसको निर्णय हो, धम्क्याएर भाडा लिने र छोड्ने बेलामा बखेडा झिक्ने ।’
उसले बोली ।
‘ठिकै छ म सहन्छु ।’ मैले बोलेँ ।
‘हुन त सहने, सम्झाउने र हर घटनालाई सहज रूपमा सुल्झाउने भन्दा अरू के नै गर्न पो जानेको छ र तपाईंले ।
यस पटक पनि त्यही सोचाइ छ मूर्खसँग झगडा गर्नुभन्दा केही कुरा सहनु राम्रो हो ।’ उसले बोली ।
‘ल भनेपछि मेरो यत्रो दुःख चाणक्यनीति अहिल्यै ननिस्कने भयो हैन त ?’
उनले पुनः बोलिन् ।
‘हो यो घटना साम्य नभई तिम्रो मात्र होइन कसैको पनि किताब निकाल्दिन ।’
मैले जबाफ दिएँ ।
‘भनेपछि बुढाले पाँच महिना बखेडा झिकिदियो भने, तपाईं कचौरा थापेर भिख मागेर पशुपतिमा बस्ने ?’ उनले बोलिन् । ‘नेगेटिभ कुरा नगर दमन्ता आजको तीन दिनभित्रमा म त्यहाँबाट सरिसक्छु ।’ मैले आत्मबिश्वाससँग जवाफ दिएँ ।
‘म नि हेरौँला बुढाले मान्छे पनि नबस्ने दुहुनो गाईले दुध दिएझैँ भाडा
तिरिरहेको मान्छेलाई त्यसै छोड्ला ।’ उनले भनिन् ।
‘याद गर्नुहोस् ढकाल वनमा पनि सिधा सिधा रुखहरू पहिले काटिन्छन् । सिधा भएर बाँच्नेका न अँगालोमा श्रीमती, न बैंकमा ब्यालेन्स केही नि हुँदैन ।’
उनले पुनः बोलीन् ।
‘तिमी यो बुझ सिधाका साथ परमेश्वर अर्थात् भगवान हुन्छन् ।’ मैले बोलेँ ।
‘कहाँ छन् भगवान्, भगवान् भए त्यो बुढाले पनि आफ्ना बुहारी र नातिनातिनाले पकाएको खान पाउँथ्यो घरमै मन्दिर राखेर बिहानबेलुकै पुजापाठ गरेको छ त ?’ उनले बुढाकै उदाहरण दिएर मलाई पेल्दै बोलिन् ।
‘तर मेरा लागि भगवान् छन् तिनै भगवान्ले सहयोग गर्छन् ।’ मैले भनेँ ।
‘कस्ता भगवान् ?’ उनले प्रश्न गरिन् ।
मेरा लागि अन्न उब्जाउने किसान भगवान् हुन्, उनीहरूले उब्जाएको अन्न खान्छु । मेरो लागि भगवान मलाई बिश्वास गरेर काम दिने हुन् । उनीहरूले दिएको पारिश्रमिकबाट म परिवार र अफिस चलाउछु । अनि मेरा भगवान् भनेका लेखकहरू हुन् । तिनै लेखकले लेखेको कृतिबाट म आम्दानी गर्छु समाजसेवा गर्छु । विभिन्न गोष्ठी र सेमिनार गर्छु । यस अर्थमा तिमी पनि मेरी भगवान हौ ।’ मैले जवाफ दिएँ ।
‘तर तपाईंकी बुढीले त सैतान भनी नि त मलाई ।’ उनले बोलिन् ।
‘यो पुरानो कुरा नकोट्याऊ ।’ मैले बोलेँ ।
‘म वर्तमानमा बाच्छु पुराना कुरा सोच्दिनँ ।’ मैले पुनः बोले ।
‘ल उसो भए मेरो किताब अहिल्यै निस्कँदैन होइन त ?’ दमन्ताले बोलिन् ।
‘हो ।’ मैले सङ्क्षिप्त जवाफ दिएँ ।
‘मेरो बालाजुबाट गोदाम सार्ने जुन दिन हुन्छ त्यसपछि मात्र म काममा
लाग्छु ।’ मैले अझै जोड दिएर बोलेँ ।
‘धन्यवाद ! म हिडेँ ।’ उनी यति बोलेर हिँडिन् ।
उनी हिँड्नासाथ सिद्धार्थ आइपुग्यो ।
‘सर मेरो ‘जिन्दगी’ सङ्ग्रहले त राम्रो बजार लियो नि ।’ अफिसमा पस्ने
बितिकै सिद्धार्थ बोल्यो ।
‘हो र राम्रो कुरा हो पहिलो सङ्ग्रहले नै तपाईंलाई स्थापित बनायो ।’
मैले जवाफ दिएँ ।
‘जाऊँ सर म नास्ता खिलाउँछु ।’ उसले आग्रह ग¥यो ।
फेरि पसलतिर नास्ता खान गइयो । नास्ता खाएर ऊ मेलम्चीतिर निस्कियो म अफिस आएँ । घडी हेरेँ, पौने आठ मात्र भएको छ । नौ बजेमात्र चौकीमा भेट्ने कुरा छ । अब हिजो लेखेको टाइपिङ गर्नुप¥यो भनेर लागेँ तर टेबुलमा राखेको उपन्यासको कापी नि गायब ।
दमन्तालाई फोन गरेँ, फोन स्विच अफ छ । बाटोमा त झारिनँ ? अहँ यहाँ आएर पढ्दा पढ्दै विशाल आएर चिया पिउन गएँको । यताउति सबैतिर खोजेँ । अहँ भेट्टाइनँ । त्यही बेला फोन बज्यो । फोन बालाजुको घरबेटीको थियो ।
फोन उठाएँ,
‘हेल्लो गुरु नमस्कार ।’
‘नमस्कार ।’
‘उपन्यास त गतिलो लेखेको रहेछस् । तैँले उपन्यास लेख्दैमा मेरो हाइटेन्सन
मुनिको बिल्डिङ भत्किन्छ ? तैँले उपन्यास लेख्नेबित्तिकै मैले कवाडी कर
तिर्नुपर्छ । हेर् ढकाल म लिन जन्मेको हुँ, दिन होइन । अब उपन्यास लिन्छस् भने एक महिनाको भाडा तैँले बढी तिर्नुपर्छ । तैँले छाप्ने उपन्यासले मेरो रौँ पनि हल्लिँदैन ।’
‘दमन्ताले ल्याएर कापी बुझाई ?’
‘हो अलिकति बासी अचार चटाइदिए ऊ मेरी भई तेरो विरुद्ध बोल्ने अरिङ्गाल हो ऊ । समय छैन फोन राखिदिएँ ।’
उपन्यास बालाजु पुगेछ । ठिकै छ, भन्न त भन्थे । आइमाईसँगको व्यवहार
खुर्सानीको व्यापार । तर होइन मैले आइमाईलाई दोष दिनु हुँदैन । आखिर
मलाई जन्माउने लालनपालन गर्नै आमालाई दोष दिनु सरह हो । सबै
लोग्नेमान्छे नि असल हुँदैनन् र सबै आइमाई मान्छे नि खराब हुँदैनन् ।
यसो घडी हेरेँ बिस्तारै हिँड्दै चौकी जान मन लाग्यो । बिस्तारै हिँडे, झन
उपन्यास पनि पुग्यो । बुढो यसै त मातिएको साँढे जस्तो छ त्यहाँमाथि उपन्यास पढेपछि गाँजा खुवाएको साँढे बन्छ । जसरी हुन्छ यो समस्याको समाधान चाँडै गर्नुपर्छ मैले । म बिस्तारै हिँड्न थालेँ ।
घटना सामान्य हो तर जेलिएको । एक अर्थमा भन्नुपर्दा मेरो सिधापनाको फाइदा उठाइरहेका छन् मान्छेहरू । घरबेटी बुढो, लाइसेन्स विना सडकमा निधक्र्क गाडी गुडाइरहेको डाइभरको परिवार, पुलिस प्रशासन अनि लाइसेन्स बनाउँछु भनेर पैसा लगेर न लाइसेन्स, न पैसा फिर्ता गर्ने हर्कमान (अनि दमन्ता ?) । यहाँ गल्ती मेरो केही छैन तर सबै गल्तीको परिणाम म भोग्दैछु । मलाई तनाब छ उनीहरू सबै मेरो दुर्दशामा डम्फु बजाइरहेका छन् । रमाइरहेका छन् । मनमा यस्तै कुरा सोच्दै चौकी पुगेँ । मेरो साथी आइपुगेको रहेछ । हामीले निवेदन दियौँ । अर्को पुलिसले निवेदन पढ्यो र पैसा लैजाने मान्छेको भाइ, साथी सबैलाई फोन ग¥यो । उसको अर्को नम्बर पत्ता लगायो त्यसमा पनि फोन ग¥यो ।
त्यसपछि पैसा लैजाने मान्छेले मलाई फोन ग¥यो र भोलि पैसा ल्याइदिने
कुरा ग¥यो । मनमा आशाको दियो बल्यो । त्यति बेलै अघिल्लो दिन निवेदन लिन नमान्ने पुलिस आयो र भन्यो, ‘आज पनि किन तपाईं यहाँ ? कारोबार गर्ने तपाईंहरू अनि दुःख हामीलाई दिने ?’
‘आज आएको राम्रो भयो नि सर, पैसा खाने मान्छेको फोन लाग्यो । भोलि
पैसा दिन्छु भनेको छ ।’ मैले बताएँ ।
‘मेरो कुरा सुनेर ऊ कालो बन्यो स्यालले मासु सापट लगेर फिर्ता दिएको
रेकर्ड हुन्छ ?’ पुलिसले बोल्यो ।
‘ठिकै छ तपाईंहरूले पनि सहयोग गर्नु म पनि सक्दो गर्छु यदि अझ भएन भने विभिन्न पत्रपत्रिकामा पनि घटना सुनाउँला पैसा दिने मान्छे र पैसा लिने दुबैको फोटो सार्वजनिक गरौँला ।’ मैले बोलेँ ।
‘भन्ने बित्तिकै कुन पत्रिकाले तपाईंको कुरा सुनिदिन्छ र ?’ पुलिसले बोल्यो ।
‘जुनसुकैले पनि सुनिदिन्छ सर । म अझ दुबै पक्षको हित होस् भन्न चाहन्छु ।’
मैले भनेँ ।
‘तपाईंले आफै तिरिदिए भइगयो नि सर जाबो त्यति पैसा ।’ पुलिसले बोल्यो ।
‘म त्यतिमात्र होइन हात थापेर हिँडेँ भने पचास लाख तिर्न सक्छु तर अरूले गरेको कारोबार सल्टाउन चाहन्न किनकि मेरो घरबेटी गोरु हो । गोरुले मात्र एउटासँग भाडा लिएर अर्कालाई तालाचाबी फेर्ने अनुमति दिन्छ । सारा घरबेटीको अगाडि त्यो जस्तो कलङ्कित घरबेटी जन्मिँदैनन् । किनकि पाखामा जन्मेर घुस खाएर घर बनाउनेको मनस्थिति अलकत्रा जस्तो कालो नै हुन्छ ।’ मैले जवाफ दिएँ ।
मेरो कुरा सुनेर पुलिस हाँस्यो, ‘के त्यो घरबेटीसँग तपाईंले टक्कर
गर्न सक्नुहुन्छ ? उसको पावर बुझ्नुभएको छ ? तपाईंले अस्ति सामान
लान पाउनुहुन्थ्यो । तर उसले पावर भिडाएको छ । माथिबाट आदेश आएपछि हामीले मान्नुपर्छ ।’ पुलिसले आफ्नो विवशता बतायो ।
‘मलाई सबै थाहा छ डिएसपीले खबर गरेको छ तपाईंलाई तर डिएसपीले आफ्नो नैतिकता भुलिरहेको छ । ऊ सधैँ डिएसपी हुँदैन सधैँ गोली गठ्ठाबाट सुसज्जित हुँदैन । आफ्नी श्रीमतीका नाममा जग्गा बैना गरेर पछि सापकोटालाई झैँ बेपत्ता पार्न मलाई सक्दैन किनकि त्यो प्रमाण हरेक पत्रपत्रिकामा पुगिसकेको छ ।
उनीहरूलाई अनुसन्धान गर्ने निकायले गरिरहेका छन् । म यहाँ फगत देखा परिरहेको मात्र हुँ । समस्याको समाधान मसँगै छ ।’ मैले जवाफ दिएँ ।
‘ठिकै छ पैसा लानेले दिन्छु भनेको छ भने पैसा तिरिदिनुस् । पैसा तिरेपछि पनि तपाईंलाई समान लान त मुस्किल नै छ । घरबेटीलाई तपाईंले बोल्ने स्वभाव भएन, बोल्दा विचार पु¥याउनु भनेकाले कोठामा बस्ने मान्छेको यत्रो फुर्ती भनेर उसका दुबै छोरा र ड्राइभरको परिवार पनि लागेका छन्, तपाईंलाई हातपात पनि गर्न सक्छन् । हाम्रो जागिरको सवाल छ तपाईं र म दुवै गाउँबाट आएर बसेका न हौँ । हामीलाई फँसाउन सक्छन् । होसियार रहँनु । अब जानुहोस् अरू मान्छे आउन सक्छन् ।’ पुलिसले यथार्थ ओकल्यो । त्यसपछि साथी र म अफिसतिर आयौँ । अफिसमा केही काम गर्न मन लागेन साथी आफ्नो अफिसतिर गयो । म नारानथानतिर गएँ । शिवपुरी जङ्गलको चिसो हावा खान ।
पुलिसले नै मलाई जानकारी दिएको छ । सुरक्षा खतरा छ । मैले उसको कुरालाई गम्भीरतापूर्वक लिएको छु । म आफुलाई असुरक्षित महसुस गरेको छु । तर म सुरक्षाको कुनै वैकल्पिक बाटो अपनाउन चाहन्न । किनकि मैले कुनै ग्याङ वा युवाको समुह भेला गरेँ भने झडप गराएर मलाई अर्को झन्झट दिन सक्छन् । मैले पढेका र हेरका उपन्यास र सिनेमामा त्यस्ता कुरा पाएको छु ।
यो लफडा हो, पागल मष्तिस्कवाला घरबेटीले डिजाइन गरेको । यसमा अरू कसैको हात र दोष छैन । जस्तो बाउ उस्तै छोरो भएर पदको दुरुपयोग गरेको हो डिएपी छोराले । न्यायको र सत्यताको बिर्को लगाउनेहरू झुटको खेती गर्छन्, भ्रम फैलाउछन् तर यसमा डराएर भाग्नुपर्ने कुनै कारण नै छैन । आखिर संसार तिनीहरूको मात्र होइन । मैले एउटा फेसबुकमा स्टाटस लेख्छु तर पोस्ट गर्न बाँकी राख्छु घटनाको विवरणको । मेरो एउटा अग्रगामी चिन्तन बोकेको साथीकोमा जान्छु र आफ्ने फेसबुक एकाउन्ट दिन्छु । ‘आज उसले पैसा तिर्नासाथ म बालाजु गएर सामान लिएर आउँछु तर सुरक्षाको निकै समस्या छ म लफडाबाजी गर्न चाहन्न । यदि मैले साँझसम्म फोन गरिनँ भने यो स्टाटस पोस्ट गरिदिनुहोला ।’ साथी हाँस्छ र बोल्छ, ‘ढकालजी तपाईंले जित्नु हुन्छ । यो कुनै लफडाको ठूलो विषय होइन मात्र घरबेटीले तपाईं मार्फत आफ्नो चरित्रको परिचय समाजलाई दिँदै छ । आजसम्म उसको परिचय दुई दुई विषयमा एमए पास गरेको
विद्वान्, पूर्वसिडियो, डाक्टर र डिएसपीको बाउ, लेखक, एउटै पत्नीको मात्र
श्रीमान भन्ने थियो । अब भोलिबाट उसको परिचय घुसखोर, भूमाफिया,
बहुपत्नीको पति, पत्नीलाई अत्यन्त दुःख दिने नरपिशाच, कवाडी साहु जो
करौँडौको कवाडी कारोबार गर्छ तर कर तिर्दैन, घरमा मन्दिर राखेर पूजा
गर्ने पुजारी मात्र नभई सायद त्यो रक्तचन्दनको पनि अवैध धन्दा चलाउने मान्छे हुनुपर्छ यस्तै नाम हुनेछन् । आखिर तपाईं हामी चारो खोज्न आएका पक्षी न हौँ । चारो खोज्छौँ, खान्छौँ र अर्को ठाउँ जान्छौँ । कसैलाई दुःख दिँदैनौँ तर ऊ हरेकलाई दुःख दिने सामन्ती न हो । पिर नर्गनुस् तपाईंलाई केही हुँदैन यदि भइहाल्यो भने समाजमा तपाईंको अर्को जन्म भइहाल्नेछ ।’
‘हुन्छ सर अहिले म हिँडेँ, १० बज्न लाग्यो । हर्कमानले पैसा पठाइदिनासाथ म बालाजु जान्छु ।’ उसँग बिदा भएर म गँगबु अफिसमा आएँ । पौने एघार बजेतिर हर्कमानले उसको साथी मार्फत माछापोखरीमा पैसा पठाइदिएको छु भन्यो । माछापोखरी गएँ पैसा लिएँ र ड्राइभरका परिवारलाई पैसा लिन बोलाएँ । चौकीमै उनीहरूको परिवारलाई पैसा दिएँ । प्रहरी आफैँले पैसा तिरिदिनुभयो भन्दैथ्यो । नेपालको पुलिस प्रशासनमा कुनै विश्वास नभएको छनक हो यो । पैसा तिरेर बालाजु आएँ ।
‘गुरु अब खोल्दिनुस् चाबी ।’ मैले अनुरोध गरेँ ।
बुढाले चाबी खोलिदियो चाबी खोलेपछि कवाडी बोलाएँ । फोहर र काम नलाग्ने भएका पुस्तक र पत्रपत्रिका बेचिदिएँ । बेलुका अफिस बन्द गरेँ । किनकि भोलि शनिबार थियो । अवरोध गरेमा सामना गर्ने, नगरेमा सहज सामान सार्ने मेरो योजना थियो । मेरा साथीहरूलाई त्यही अनुसार म्यासेज छाडेँ । बिहान सात बजेबाट गाडीमा सामान हालेँ पहिलो ट्रिप नेपालटार, दोस्रो ट्रिप गँगबु अफिस, तेस्रो ट्रिप साथीको कागज गोदाम टेकुमा सहज रूपमा सामान पु¥याएँ । चौथो ट्रिप सामान फेरि गोगँबु पु¥याउनु थियो । बालाजु पुगेँ । दमन्ता र बुढो कुरा गरिरहेका थिए । मैले समान हाल्दै गर्दा बुढो तल झ¥यो र बोल्यो कति पैसा लिन्छस् यो फमालको टेबुल छोडिदे ।’
‘हुन्छ एक पैसा पनि लिन्नँ ा, तपाईंकोबाट मेरा ग्याँसका दुईटा सिलिन्डर हराए, दुईटा कुर्सी हराए, साइकल हरायो, ठूलो टेबुल हरायो त मैले तपाईंलाई केही भनिनँ, यसरी माग्दा एउटा टेबुल दिन्न त, लैजानुस् मलाई सम्पत्तिले होइन, मैले सम्पत्ति कमाउने हो ।’ मैले जवाफ दिँदै टेबुल छोडिदिएँ । मैले उसलाई टेबुल उपहार दिएँ र त्यहाँबाट सामान लोड गरेर फर्किनै लाग्दा बुढाले बोल्यो, ‘ढकाल तँ त गैहालिस् तर म यहाँ कसरी बस्नु तँलै जस्तो छाडेर जाउँ सम्पत्ति यहीँ छ ।’
प्रतिउत्तरमा म फिस्स हाँसे मात्र, केही बोलिनँ । किनकि उसले मलाई भनिरहेको छ सम्पत्ति आफ्नो भए तैँले छोड्न सक्थिस् र, भाडावाल भएकोले गइस् भनेको न हो । सामान ल्याएर थन्क्याए । मनमा एक प्रकारको खुसीले साम्राज्य जमाएको छ । दुई बोतल सिसाको स्लाइस खाएँ । बेलैमा कोठातिर गएँ बाटोमा जाँदा आधा लिटर घ्यु पनि किनेँ । ताजा तरकारी पनि किनेँ । कोठामा त्यति धेरै गलेको भए पनि खाना बनाउन मन लाग्यो खाना खाएर बर्लङ्ग ओछ्यानमा पल्टिएँ । क्रमश ः
आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को दोस्रो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।


