उपन्यास ‘तँ’ (चौथो यात्रा)

सिनेपत्र/काठमाण्डौं
लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । हामीले केहि समयदेखि उपन्यास ‘तँ’ लाई सिनेपत्रबाट प्रकाशन गर्दै अइरहेका र्छौ । सोहि उपन्यासको बाँकी अंश अबको क्रममा,
तेइस गतेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । सोचे यो कार्यक्रम अगाडि जति नै समस्या आए पनि जति नै आरोप आए पनि मैले सुसम्पन्न गरेर छाडँे । ठुलो बोझ बिसाए जस्तो भो । उकालो बाटो हिँडेर घरमा पुगेर आमालाई ढोगे जस्तो । बेलुका न खान मन लाग्यो न कुनै मनमा कुरा नै खेले । भुसुक्क निदाएँछु । बिहान चार बजे निद्राले छोड्यो बाहिर कुुकुर भुकिरहेका थिए । हातमुख धोए चिया उमालेर पिएँ । आज म बालाजु जानुछ । त्यहाँको भाडा मिलाएर सामान सार्नुछ । सातवर्ष अगाडिदेखि बसेको ठाउँलाई अन्तिम पटक दर्शन गर्नुछ । पाँचबजे म गंगबुँ अफिस आएँ । एक छिन काम गरेँ । छ बजे भोला दाइ आउनुभयो । भोला दाइको पुख्यौली घर शङ्खुवासभा तर अहिले तराईतिर झर्नुभएको छ । उहाँ पनि मेरो गुरु । उहाँबाट मैले गम्भीर हुन सिकेको हुँ । उहाँको अनुहारमा न चरम निराशा देख्न सकिन्छ न चरम खुसी र उमङ्ग । उहाँको अनुहार र समुद्र उस्तै लाग्छ शान्त तर क्रियाशिल । उहाँ प्लम्बिङ्गको काम गर्नुहुन्छ । मेरो अफिस नजिकै कोठा छ । बिहान उहाँ र म प्रायः सँगै चिया पिउँछौ । उहाँ आएपछि हामी चिया पिउन गयौँ । चिया पिएपछि उहाँ अन्तै काममा जानुभयो र म बालाजु गएँ । गोदामका चाबी फेरिएको थियो । नयाँ चाबी थियो । यो देखेर म छक्क परेँ र घरबेटी बुढालाई सोधे, ‘गुरु चाबी त नयाँ छ त ?
‘खै कसले लगायो ।’ बुढाले जवाफ दियो ।
गैरजिम्मेवार कुरा भयो । म निराश भएँ । पूर्वसिडियो, बहालवाला डिएसपीको बाउले गैरजिम्मेबार कुरा गरेको सुनेर । फेरि दमन्तालाई पनि त्यही देखेँ । दमन्ता हाँसी हाँसी पूर्व सिडियोसँग बसिरहेकी छे । मेरोमा आएर त्यही बुढोलाई उडुस भन्ने मान्छेलाई त्यहाँ देख्दा म छक्क परँे । सोचेँ यहाँनेर केही न केही गडबड छ । हुन त आगोमा राम्ररी खारिएन भने नौनी घ्यु बिग्रन्छ तर त्यसलाई खारेपछि वर्षो टिक्ने घ्यु बन्छ । यस्तै जालझेल र षड्यन्त्र अनि धेरै समस्या नझेलेको छोरो मान्छे केको छोरो मान्छे । टक्कर ठूलैसँग परेको राम्रो । आत्मबल बढाउँछु र सोध्छु बुढालाई, ‘गुरु मेरो सामान लान पाउँदिन ?’ तब बुढाले फोन गर्छ केही बेरमा उसको भाडा मान्छे आइमाई आउँछे र बोल्छे— ‘त्यो मेरो बुढाको लाइसेन्स बनाउने मान्छे खै ? त्यसले लगेको पैसा फिर्ता नपाईकन म चाबी दिन्नँ ।’
तब मैले मनमनै सम्झेँ कुरा त्यसो हो । लाइसेन्स बनाइदिन्छु भनेर तपाईंको बुढाको पैसा लाने अर्को मान्छे । त्यो बेलामा पैसा दिएको देख्ने म थिएँ । त्यति भएकाले मैले त्यो पैसा तिर्नुपर्ने ? नतिरीकन आफ्नो सामान लान नमिल्ने ? घर पूर्वसिडियोको । हुकुम उसका भाँडा माझ्ने आइमाईको, क्या क्लाइमेक्स छ । अब मेरो जिम्मेबारी त्यो पैसा लैजाने मान्छेलाई खोज्नुछ । नत्र गोदाममा सामान मेरो, चाबी अर्काको । भाडा मैले तिर्ने, चाबी अर्काको लगाउने । कवाडी साहु मेरो घरबेटी पूर्वसिडीयो रमित हेरेर बस्ने । त्यहाँबाट फनक्क फर्किएँ, म । अफिस आएँ । र सम्झन थालेँ पुरानो घटना । उमेश एउटा सङ्घर्षशील मान्छे । ऊ घरको कान्छो छोरो । घरव्यवहार सबै भ्याएर पनि विद्यार्थी आन्दोलनमा पनि सरिक । साहित्य पनि लेख्ने । उसले पत्रिकाका प्रकाशन गर्न मेरोमा आउँथ्यो । उसले चार अङ्क पत्रिका निकाल्यो । पत्रिकाको काम छउन्जेल मसँगै बस्थ्यो । हामी सँगै खाना बनाएर खान्थ्यौँ । सँगै सुत्थ्यौँ । भूकम्प गयो । घर भत्कियो तब ऊ र उसकी बैनी विदेश गए । ऊ विदेशमा हुँदा पनि कुराकानी भइरहन्थ्यो । दाइ के छ, कस्तो छ उसले सोधिरहन्थ्यो । साहित्यिक कुराहरू फेसबुकको भित्तामा राख्थ्यो । लाइक कमेन्ट हुन्थ्यो । एक दिनको कुरा हो । उसले मलाई मलेसियाबाट फोन ग¥यो ।
मेरो दाइ पत्रिका छाप्न आउँदै हुनुहुन्छ सहयोग गर्नुस् है । ऊ इमानदार थियो । मेरो एक पैसा पनि बाँकी राखेको थिएन । मैले हुँदैन भन्न सकिनँ । पत्रिका दर्तादेखि लिएर पत्रिकाको साहित्यिक फाँट पनि हेरिदिएँ । पत्रिका निस्कने काम भयो । पत्रिकाको पैसा पनि दियो र अर्को अङ्क पत्रिका निकाल्न छलफलमा निरन्तर आउने क्रममा त्यही घरमा भाँडा माझ्नेका श्रीमानसँग लाइसेन्सको बारेमा कुरा भयो । वर्षौदेखि बिना लाइसेन्स गाडी चलाइरहेको उनलाई उक्त मान्छे भेटेपछि देवता भेटेझैँ भयो । भोलिपल्ट बिहानै पैसा बुझाए, उनीसँग बाईस हजार मात्र रहेछ तिनहजार मसँग लिएर बुझाए । पैसा पाएपछि पत्रिका नियमित निकाल्छु भन्ने मान्छे क्रमशः टाढा हुन पुग्यो । दुई तीन पल्ट त डाइभरलाई यातायात स्कुटरमा हालेर लग्यो पनि । मेरो आफ्नै समस्याले तीन महिना म घरतिर बसेँ । पछि आउँदा त्यो मान्छे खोजुम भनेर खोजियो तर भेटिएन । दाजुले खाएको कसका भाइले तिर्छ भनेर सल्लाह बमोजिम नै भाइलाइ फोन गरिएन । त्यही अफिस चलाउँदै गइयो । जब घरबेटीले कवाडीको व्यवसाय सुरु ग¥यो तब मलाई त्यो ठाउँमा अफिस राख्न मन लागेन । किनकि ज्यादै हल्ला र डिस्टर्भ ग¥यो । यसरी गोदाम त्यहाँ राखेर मैले अफिस सारेँ । गोदामको भाडा नियमित तिर्दै गएँ । त्यो विषयमा मलाई कसैले सम्झाएन पनि र मेरो सम्झनामा आएन ।
कुरा ठुलो थिएन मात्र पच्चीस हजारको । मैले अर्को ठाउँमा गोदाम पनि खोजिसकेको थिएँ । बुढाको अप्रिय वचन सुन्न मेरा कान योग्य हुनै सक्दैनथे किनकि बुढो सिडियो हुँदाको शासक थिएन, जग्गा दलाली मात्र गर्ने भूमाफिया मात्र थिएन बुढाको दिमाग थोत्रा सामान बटुल्ने र अपशब्द बोल्ने स्थितिमा पुगिसकेको थियो । मानौँ अब चाँडै बुढाको पापको घैँटो फुट्नेछ । एकान्तमा बसेर आफ्ना अपराधहरू ओकल्ने बेला भइसकेको छ । मान्छेले संसारलाई त ढाँट्न सक्छ तर आफैँलाई भने ढाँट्न सक्दैन । एकान्त कोठामा बसेर आफ्ना दुष्कर्म सम्झेर आफ्नै अनुहार चिर्थोने बेला भइसकेको छ । मैले उक्त व्यक्तिलाई खोज्न सुरु गरेँ । उसको नम्बर स्विच अफ छ, उसको साथी भेटेको छैन भन्छ । फेसबुकमा उसको भाइसँग कुरा गरेँ । उसले पनि चासो देखाएन । अब अन्तिम अस्त्र प्रहरी सम्झेँ । लगेर निवेदन दिएँ । प्रहरीले मेरो निवेदन लिनै मान्दैन । पैसा तिरेर लिएर जा तेरो सामान भन्छ । सायद डिएसपीको माथिबाटको हुकुम हुनुपर्छ । मलाई थुनेर राख्नु न त पैसा उसले नल्याउन्जेल ।
मैले यसो भन्दा प्रहरी मलाई थुन्न पनि तयार छैन । मेरो निवेदन लिन पनि तयार छैन । चौकीबाट अफिस आउन मन लागेन । सिधैँ कोठामा गएर पल्टिएँ । साँच्चिकै मैले मेरो सामान नपाउने नै भएँ । मनमा दिक्दार लाग्यो । ओछ्यानमा बङ्लङ्ग पल्टिएँ । खै ! कतिखेर निदाएँ पत्तै पाइनँ ।
राति बार बजे निद्राले छोड्यो । उठेँ । भोक लागे जस्तो भयो । यो भूतले
खाना खाने बेलामा के खाना पकाउनु । अलिकति घ्यु निकालेँ त्यसमा चिउरा र चिनी हालेर पानीमा मुछेर खाएँ । लेख्दैँ गरेको तँ उपन्यासमा आजको विषयवस्तु लेख्न मन लाग्यो लेखेँ किनकि फेसबुकमा मैले लेखिसकेको थिएँ रत्नपार्ककी रन्जु मेरो अनुसन्धानात्मक उपन्यास हो र तँ भने मेरो अनुभूतिको उपन्यास हो । केही बेर लेखेँ । तँ साच्चिकै मेरो मात्र कथा भएर जन्मने भयो भनेर कता कता खुसी थिएँ ।
दुःख पाउँदा खुसी खोज्ने एउटा कथा तँ ।
सङ्घर्षले जेलिएको जालो भित्रको व्यथा तँ
तेरो आशमा बाँचेको छु दुर्वचन सहेर पनि
घरघडेरी बैंकब्यालेन्स सबै जायजेथा तँ । क्रमश ः
आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को दोस्रो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।




