बुढो र लेखकको बिग्रदो सम्बन्ध ! (उपन्यास ‘तँ’ छैटौ यात्रा)

सिनेपत्र/काठमाण्डौं
लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । हामीले केहि समयदेखि उपन्यास ‘तँ’ लाई सिनेपत्रबाट प्रकाशन गर्दै अइरहेका र्छौ । सोहि उपन्यासको बाँकी अंश अबको क्रममा,
बिहान अफिसमा आएँ । एक महिनाको भाडा तिरेर ल्याएको उपन्यास टाइपिङ्ग गर्न मन लाग्यो । यो उपन्यास अरू उपन्यास भन्दा महङ्गो भयो । किनकि ननिस्कँदै विवाद, निस्केपछि झन के होला ? मनमा अलिकति उत्साह र अलिकति भयले साम्रज्य जमायो । उपन्यास टाइपिङ्ग गर्न पल्टाएको मात्र थिएँ सुरुकै पानामा लेखिएको रहेछ । तँ आगोसँग खेल्दै छस् यो बुझ् यो पुस्तक निकालिस् भने तेरो भस्म हुनेछ । अर्थात् तँ खरानी बन्नेछस्, बाँचेर हाँस्न मन छ या खरानी बनेर उड्न त्यो तेरो विचार । उही तेरो घरबेटी यो चिठ्ठी पढेपछि यो उपन्यास प्रकाशित गरौँ कि नगरौ ? बाँचे न संसार देख्न पाइन्छ । मरेको भोलिपल्टबाट त कुनै संसार नै छैन । फेरि लेखक भएपछि समाजका लागि अन्याय र अत्याचारका कथा व्यथा लेखिएन भने जिउँदै मरेको साबित हुनेछ । जिउँदै मर्नु भन्दा साँच्चीकै मर्नु फाइदा । उपन्यास लेखेर पूरा गर्नु नै छ । त्यसलाई कल्पनाले भन्दा यथार्थताले जनसमक्ष पु¥याउनुछ ।
मलाई टाइपिङ्ग गर्नुभन्दा नि लेखेर सिध्याउन मन लाग्यो । कापी र कलम निकालेँ तर त्यही बुढो अर्थात् घरबेटीको याद आयो । बुढाको र मेरो पहिलो भेट नयाँबजारमा भएको थियो । नयाँ बजारको एउटा छापाखानामा उसको ५०० पेजको किताब छापिँदै थियो भने मेरो १० रूपैयाँ जाने सानो पुस्तिका । त्यति बेला १० रूपैयाँ जाने पुस्तिका यति बिक्थ्यो कि दिनको दुई हजार प्रति । म त्यो किताब आफैँ बनाउथेँ र बेच्थँे तर बुढाको त्यहाँ हप्कीदप्की र सान नै बेग्लै थियो । पहिलो चोटि यसरी भेट भएको बुढासँग निरन्तर भेट हुन थाल्यो । मैले ससाना अन्य प्रकाशनपछि
सोह्रखुट्टेमा सानो अफिस खोलेँ । बुढो मेरो अफिसमा आउन थाल्यो ।
टाइपिङ्गको काम दिन्थ्यो तर मैले पनि कहिल्यै पैसा मागिनँ र उसले कहिल्यै पनि जानेर दिएन । काम निरन्तर चल्दै गयो । यसै क्रममा मेरो अफिस भएको घर भत्किने भयो म नयाँबजारमा सानो सटर लिएर बसँे । त्यस घरमा बस्ता काम त धेरै गरियो अनि ऋण पनि धेरै लाग्यो । पछि बुढाले मैलै टहरालाई पक्की बनाएको छु अफिस मेरोमा सार भन्यो । बुढो लेखक मान्छे नै भएको हुनाले उसैकहाँ बसौँ न त भनेर अफिस सारियो । अफिस सारिसकेपछि, बुढाले आफ्ना नातागोता सबैलाई मेरो अफिस भनेर चिनायो । बुढो खुसी भयो । बुढाले मलाई भन्थ्यो हेर ढकाल, म गोर्खाको पाखामा जन्मेको मान्छे । म जन्मिएपछि सानैमा बुबा बित्नुभयो । मलाई आमाले हुर्काउनुभएको दुःख गर्दै पढँे । एस.एल.सी पछि जागिर खाँदै पढँे । बिस्तारै सम्पति कहाँ कहाँबाट आइलाग्न थाल्यो । धेरैवटा घरघडेरी जोडेँ । छोरीहरूको बिहेदान पनि घच्चीले गरेँ । छोराहरू मेरो जस्ता ल्वाँठ अरू कसैका जन्मिँदैनन् । पैसाका बिटा कति खर्च गरेँ, गरेँ तिनलाई डाक्टर बनाउँन । राजदूतलाई वेश्या मार्फत पैसा खुवाएर पनि पढ्न पठाएँ । अहिले डा. छन् ठूला पदमा छन् । तर मसँगै बाझ्छन् । मेरो जेठो छोरो त कामै नलाग्ने मान्छे हो । बाझेर छुट्टिएर गयो । कान्छो छोरो रक्सी नखाई बोल्न पनि सक्दैन । जब पैसाको सेटिङ्ग मिल्छ नि थाम्नै नसक्ने गरी मिल्छ । हेर् ढकाल, तँ गरिब बाहुनको छोरो । मिहिनेत गर्, मिहिनेतबाट खान चाहिँ राम्रै पुग्छ तर थोरै पुँजीबाट दुःख गर्ने मानिसले घर घडेरी जोड्न सकिँदैन । जे होस् यो घरमा बसुन्जेल राम्रोसँग बस् । भगवानको बास भएको माटो हो यो । यो घरमा बस्नेको सबैको फलिफाप भएको छ ।
यसरी कुरा गर्ने बुढो क्रमशः आफ्नो रूप धारण गर्दै गयो । उसले विभिन्न बहानामा मलाई दुःख दिँदै गयो । मैले सहँदै गएँ । किनकि सहनु नै ठूलो धर्म हो । सहनशीलता र नम्रताले मात्र मान्छेलाई विजयी बनाउँछ भन्ने कुराले मनमा एक प्रकारको गहिरो छाप छोडेको थियो । समयसँगै म बुढाको शासकीय पनासँग परिचित हुँदै गएँ । सोही अनुरूप व्यवहार गर्दै करिब छ वर्ष बसेँ । जब बुढाले कवाडीको व्यवसाय सुरु गरे तब त्यो हल्लाखल्लाले मलाई डिस्टर्व ग¥यो र म बुढाको घरमा गोदाम मात्र राखेर बाहिरिएँ । कोठामा बस्ने सबैसँग बुढा दिनहुँ बाझ्थे । घरका छोराबुहारी आउँदा नि बाझ्थे । पाहुना पासासँग नि बाझ्थे । उनले नबाझ्ने भनेको त्यही भाँडा माझ्ने र लुगा धुने आइमाईसँग मात्र हो । बुढासँग छोराबुहारी, छोरी, आफन्त सबै रुष्ट थिए । बुढाको बानी र हप्कीदप्कीसँग सबै कोठामा बस्नेहरू डराउँथे । कवाडी मजदुरहरू त उनको गाली सुन्दा धुरुधुरु रुन्थे । तर बुढालाई त्यसको कुनै परवाह थिएन । परवाह थियो त केवल पैसाको । उनको सिद्धान्त यो संसारमा सबैभन्दा ठूलो चिज नै पैसा हो । पैसाका लागि उनी जे गर्न पनि पछि हट्दैनथे । अघिल्लो दिन भाडा बुझाउनेसँग भोलिपल्टै दिएको छैनस् भनेर भाडा माग्थे । त्यही भएर कोठामा बस्नेले उनलाई सही छाप गराएर मात्र भाडा दिन्थे । सकभर कोही उनको सामुन्ने
देखा नै पर्न चाहँदैनथे । तर यति हुँदा हुँदै म सात वर्ष बसेँ । मेरो विरुद्धमा जेजे प्रपञ्च रचे मेरो सहनशिलताको अगाडि केही लागेन । अहिले म बुढासँग टाढा छु । तर बुढा मेरो नजिक छन् । सातसात वर्ष बसेको ठाउँबाट निस्कँदा मलाई कुनै गम्भीरता भएन्, आँसुका ढिक्का झरेनन् बरु जेल घरबाट निस्केको झै अनुभव भयो । म यस्तै सोच्दै थिएँ अफिसमा टुप्लुक्क दमन्ता आइपुगिन् ।
‘नमस्कार सर’
‘नमस्कार, बस्नोस् ।
‘अब बालाजुबाट गोदाम पनि सारिहाल्नुभयो, अब काम अगाडि बढाइदिनुहुन्छ कि भनेर ।’ उनले बस्दै बोलिन् ।
‘अब काम बढछ, तपाईंको मात्र होइन, सबैको काम हुन्छ, अब नयाँ उत्साह, उमङ्ग र ऊर्जाका साथ काम बन्छ । केही दिन लफडाबाजीमा दिन बिताएँ तर एउटा पाठ सिकेँ । को आफ्नो र को पराई, को शुभचिन्तक र को दुश्मन यो मानव चोलामा चिनिँदो रहेनछ ।’ मैले बोलेँ ।
‘कुरा सही हो । सबै चिनियो भने मानव चोलाको अर्थ नि छैन जिउनुको ।
समाजमा शत्रु हुन्छन् भनेर न हो पशुलाई समेत हतियार दिइएको, गाई
भैँसीलाई सिङ, कुकुरबिराला र बाघलाई शक्तिशाली दाँत र नड्ग्रा गोहोरालाई पुच्छर, दुम्सीलाई काँडा, सर्पलाई विष, चरालाई प्वाँख र चुच्चा यसै गरी मान्छेलाई बुद्धि । समयले तपाईंलाई बुद्धिमान बनाउँदै छ । यसमा तपाईं गर्व गर्नुहोस् । बरु मलाई एउटा कुरा भन्नुहोस् आफ्नै कापी लिन तपाईंले बुढालाई एक महिनाको भाडा किन तिर्नुभएको ?’
तब म हाँसे र बोलेँ, ‘मेरो उपन्यास तँ मा बुढाको कथा छ । म त लेखक मात्र न हुँ, बुढाले आफ्नो त्यो कथा तयार पार्न आफुलाई विद्वान्को आवरणमा कतिलाई रुवायो, कतिलाई शोषण ग¥यो, सर्वोपरि चिज पैसा मात्र ठान्यो । उसलाई मैले रोयल्टी दिएँ । अब उसले रोयल्टी नै लिएपछि मलाई बौद्धिक श्रम शोषणको आरोप पनि लाग्दैन ।’
त्यही बेला दमन्ताको मोबाइलमा फोन आयो । उनले फोन उठाइन्— ‘नमस्कार हजुर
म पब्लिकेशनमा छु
हुन्छ मैले दिएँ’
बालाजुका बुबाले तपाईंसँग कुरा गर्ने रे
‘नमस्कार हजुर ।’
‘नमस्कार ढकाल बाबु ।’
‘चिया पिउनुभयो त ?’
‘पिएँ, बाबुसँग एउटा बिन्ती गर्न मन लाग्यो, त्यो उपन्यास चाहिँ ननिकाल्नुहोला । मेरा आफन्तहरू सबैले थाहा पाउन सक्छन् । मान्छेबाट गल्ती हुन्छ । मैलै तिमीप्रति अन्याय र अत्याचार गरेको महसुस गरिरहेको छु ।’
‘उपन्यास त निस्कन्छ गुरु मप्रति त तपाईंले कुनै अन्याय र अत्याचार गर्नुभएको छैन । अपशब्द बोल्नुभयो, एक महिनाको भाडा बराबरको उपन्यासको रोयल्टी लिनुभयो । अनावश्यक रूपमा मेरो गोदाममा चाबी लगाउनुभयो । पुलिसमा लगेर दुःख दिनुभयो, मलाई पिटाउनको लागि भनेर ड्राइभर खलासीहरूसँग मिलिभगत गर्नुभयो । तर मैले ती सबै छिचोलेँ । यो सारा विषयवस्तु नै मेरो उपन्यासका कथा हुन् । म लेख्छु । तपाईं त पावरवाला मान्छे, अझै मेरो विरुद्धमा केही गर्न सक्नुहुन्छ भने गर्नुहोस् । ती कुरा समेत उपन्यासमा समेट्छु तर उपन्यास ननिकाल् भनेर चाहिँ नभन्नुहोस् । यदि तपाईं नैतिकवान् हुनुहुन्छ भने उपन्यासको विमोचनको दिन आउनुहोला पदमा रहेको बेलाको आफूले गरेको अनियमितता र दुरुपयोग बताउनुहोला, त्यही समारोहमा तपाईंले अन्याय गरेका व्यक्तिहरूसँग माफी माग्नुहोला । अबदेखि पैसाकै लागि अन्याय अत्याचार गर्दिनँ भन्नुहोला । यदि यसो गर्नुभयो भने मेरो उपन्यासले तपाईंलाई रत्नाकर होइन, वाल्मीकि बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
‘ठिकै छ बाबु तिमी मलाई एउटा कुराको जवाफ देऊ । यो दुनियाँ भनेको
रङ्गीन दुनियाँ हो । यहाँ त कत्रा कत्रा प्रेमकथा छन् । ती कथा लेख्यौ भने त्यो उपन्यास बिकेर तिमीलाई भात खाने पैसा आउँछ । आखिर तिमीले यो निकालेर के फाइदा छ ? यो बिक्दैन आखिर, किन पैसो खर्च गर्छौ ?’
‘हजुरको कुरा ठिक हो तर म निकाल्छु, मलाई थाहा छ यो कथाले कुनै
मनोरञ्जन र सन्देश पनि दिँदैन । यो समाजमा घुसखोर र सामान्तहरू सानसँग बाँचिरहेका छन्, सबैलाई थाहा पनि छ । तर सिर्जना गरिसकेको चिजलाई मिल्काउनु भन्दा छाप्नु नै उत्तम हो । फेरि तपाईं जस्ता मान्छे पनि त धेरै छन् । मैले निकालेपछि तपाईं झैँ अरू मान्छेको पनि त कथा आऊला । मेरो निर्णयलाई अल्मल्याउने काम नर्गनुहोला, मलाई हजुरले गर्न सक्ने जति त गरिसक्नुभएको छ । मैले पनि आफूले गर्न सक्ने जति त गर्न पाउनुप¥यो नि होइन ?’
‘खै मिल्नु राम्रो हो, मिलौँ भन्दा मान्दैनौ भने तिम्रो खुसी त्यो नानीलाई
फोन देऊ त ।’
मैले दमन्तालाई फोन दिएँ
‘हजुर बुबा हुन्छ हस् ।’
फोन राखेर कम्प्युटर टेबुलमाथि टाइप गर्न राखिएको कापी उसले धर्धर्ती च्यातिदिई ।
‘दमन्ता यो के गरेको तपाईंले ?’ मैले कडा स्वरमा बोलेँ ।
‘च्यातिदिएकी ।’ उसले निर्धक्क जवाफ दिई ।
‘किन ?’ मैले पुनः प्रश्न गरेँ ।
‘मर्ने बेलाका बुढाको पनि कथा लेख्ने । गल्ती केलाउँदै जाने हो भने यहाँ कति छन् कति छन् यस्ता बुढाहरू यी सबैका कथा लेख्दै जाने हो भने भोलिको नेपाली साहित्य यिनै घुसखोरको दस्तावेजीकरणले भरिनेछ ।
‘भरिए के फरक पर्छ तपाईंलाई ?, अस्ति आएर चोरेर लानुभयो त्यत्रो पैसा
तिरेर फिर्ता लिएर आएँ । अहिले आएर च्यातिदिनुभयो, आखिर तपाईंले यो
के गर्नुभएको ? तपाईंको मैले के बिगारिदिएको छु र यो बदला ?’ मैले
ठूलो स्वरमा बोलेँ ।
‘तपाईंले मेरो केही बिगारिदिनुभएको छैन । यो बुझ्नुहोस् दमन्ता कसैबाट परिचालित छे । तपाईं चुटकिला निकाल्नुस्, गाउँखाने कथा निकाल्नुस्, लोककथा निकाल्नुस् जाबो यति सानो विषयमा उपन्यास नै निकालेर नेपाली साहित्यलाई नबिगार्नुस् । बुढाको कहानी उपन्यासमा लेखिने खालकै छैन । सुन्नुहोस् उसको कहानी गाउँबाट सहर छि¥यो, टुहुरो केटो, सरकारी सेवामा प्रवेश ग¥यो, अकुत सम्पत्ति कमायो जग्गाजमिन प्रशस्त जोड्यो, छोराहरूलाई घुस खुवाएरै डा. पढ्न पठायो, घुस खुवाएरै जागिरे बनायो । छोरीहरूको बिहे धुमधामले ग¥यो । एउटी छोरी र श्रीमतीलाई अलपत्र प¥यो । सबैसँग बाझ्ने काम ग¥यो ।
बुढेस कालमा गएर कवाडी व्यापार ग¥यो । अन्याय र अत्याचार गरेर सबैलाई रुवायो । अहिले हाइटेन्सनमुनि घर बनायो । दुईचार जना गरिबका छोराछोरी त्यहाँ बस्ने दुर्घटनाले मर्लान् । त्यो घरमा बस्ने तपाईंलाई मात्र उसले अपशब्द बोलेको छैन । सबैसँग बाझेकै छ, सबैलाई शोषण गरिरहेकै छ । छोराबुहारीसँग त टोल थर्किने गरी बाझ्ने मान्छेले तपाईंलाई अपशब्द बोल्यो भन्दैमा, अरूलाई उचालेर तालाचाबी लगायो भन्दैमा तपाईंले उपन्यास नै लेख्नुपर्छ । बुढो लोभी, क्रोधी, घमन्डी र असती छ भन्ने कुरा सबैलाई थाहै छ नि । बालाजुमा उसलाई सबैले त्यही भन्छन् । यस कारण तपाईंको दिमाग अरू फराकिलो विषयमा लगाउनुहोस् । उसलाई कति पीडा छ ज्वाइँहरू उसलाई पागल भन्छन् । छोराहरू सबैसँग बाझ्छ भन्छन् । छोरीहरू मात्र हुन् बाउ यस्तै छन्, केही नभनौँ भन्ने । सौता मर्दा त आइन बुढाकी अर्की श्रीमती । तैपनि बुढो मन्दिरमा बिहानै पूजा गर्छ । श्रीमती खुसी पार्न नसक्नेले कसरी भगवान् खुसी पार्ला तर एउटा कुरा चाहिँ ग्यारेन्टी हो, बुढाले अरू महिला चाहिँ खुसी पार्ने क्षमता राख्छ । जाबो यति कुरा लेखेर पाठकको समय बर्बाद बनाउने ? ठूलो सोच र अलग्यै विषयमा उपन्यास लेख्नुस् । अब म हिँडेँ बुढाले कलङ्कीको घर
देखाउँछु भनेका छन् । दुईचार दिनपछि देवघाट नि लान्छु भनेका छन् । दमन्ता यति बोली र बाटो लाग्न लागी ।
‘भनेपछि बुढाले तपाईंलाई आफ्नो पक्षधर बनाइसक्यो ?’ मैले सोधेँ ।
‘बनायो बुढालाई पनि पीडा छ नि, श्रीमती मरिहालिन्, अर्की श्रीमतीले
फुटेको आँखाले पनि हेर्न चाहाने रैनछिन्, त्यही लुगा धुने, भाँडा माझ्नेले
पकाएर खुवाउँछिन रे, ती पनि महिनामा दुई पटक पर सरेँ भन्छिन् रे,
झर्किन्छिन् रे, कवाडीको कारोबार देशी भैयाले उत्तिकै टेन्सन दिदाँ रहेछन्,
अब जताततै घरजग्गा, भनेको बेला भाडा उठ्दैन । फेरि बुढाले अरूको
समस्यालाई बहाना भन्छन्, अनि अरूको प्रगतिको डाह गर्छन् ।’ उसले उभिँदै बोली ।
‘ल, ल जाऊ, बुढाको टेन्सन कम गर ।’ मैले विदा दिँदै बोलेँ ।
‘ल बाई ।’ उनी बाटो लागिन् ।
उनी गएपछि मलाई अफिसमा बस्न मन लागेन । अफिस बन्द गरेँ । मेरो उपन्यास च्यातिएकोमा दुःख लाग्यो । जथाभावी बोलूँ, महिलालाई गालीगलौज गरेको अभियोगमा अर्को लफडा । मेरो उपन्यास च्यात्ने हातलाई कुच्याइदिऊँ, महिलामाथि हात हालेको अभियोग । निरीह भएँ । कोठामा पुगेर मोबाइल अफ गरेर रुँदै सुतेँ । मानौँ मेरो उपन्यासको भ्रूणहत्या भएकोमा नभई कुनै आफन्तको मृत्यु भएको शोकमा म रुँदै छु ।क्रमश ;
आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को दोस्रो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।


