अभिनेत्री अशिष्मा नकर्मीको प्रेमका कुरा

हाम्रो कला/काठमाडौं

अभिनेत्री अशिष्मा नकर्मी अहिलेकी व्यस्त नायिकामा पर्छिन् । उनी अभिनीत फिल्म ‘मेला’ र ‘राधे’ रिलिजको तयारीमा छन् । यसअघि उनले ‘अधकट्टी’, ‘राघव’, ‘तोरीलाहुरे’, ‘नाव्य’, ‘लभ यु बाबा’, ‘अन्तराल’, ‘बाटोमुनिको फूल–२’ लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले धेरै अवार्ड पनि हात पारिसकेकी छिन् । फिल्ममा खुसी उनै अशिष्मा, प्रेममा भने दुःखी छिन् । यसरी उनले आफ्नो प्रेमकथा सुनाएकी छिन् :

त्यसो त मलाई मन पराउने धेरै छन् । फेसबुक र फोनबाट मात्रै होइन, प्रत्यक्ष पनि पर्पाेज राख्छन् । आफूलाई मन पराउनेको बयान धेरै गर्न चाहन्नँ । यसमा मैले घमण्ड गर्नु केही छैन । बरु, आफैँले मन पराएको व्यक्तिको कुरा गर्न चाहन्छु, जसलाई म संसारमै सबैभन्दा माया गर्छु । हो, म कसैको प्रेममा पागल छु, यो भन्न कुनै धक मान्दिनँ ।

कुनै वेला अरू कसैसँग प्रेममा थिएँ । उहाँसँगको प्रेम सम्बन्ध केही वर्षमै टुट्यो । पहिलो प्रेम ब्रेकअप भइसकेपछि दोस्रोपटक उहाँसँग जोडिन पुगेकी हुँ ।

हाइफाइभमार्फत् हाम्रो पहिलो भेट भएको थियो । हाइफाइफ च्याटमा धेरै कुरा हुन्थ्यो । उहाँ त्यतिवेला बेलायत हुनुहुन्थ्यो । हाम्रो प्रेम नभेट्दा नै धेरै झाँगियो । मैले उहाँलाई मायाले बोलाउने नाम थियो, कालु ।

प्लस टु सकेर अध्ययनका लागि म अमेरिका गएँ । सन् २००७ को कुरा हो । मलाई भेट्न उहाँ बेलायतबाट अमेरिका आउनुभयो । तर, त्यो प्रत्यक्ष भेट खासै उत्साहजनक भएन । म नै उहाँ बसेको ठाउँमा भेट्न पुगेँ । तर, उहाँका साथीहरू पनि साथै भएकाले राम्रोसँग कुरा हुन पाएन । म पूर्ण खुसी नलिकनैै फर्किएँ । म त्यहाँ नयाँ भएकाले पनि सबै ठाउँबारे परिचित पनि थिइनँ । त्यसैले उहाँले मलाई भेट्न कुर्नुपरेको थियो । यही कारणले उहाँ पनि रिसाउनुभयो । उहाँसँग अर्को भेट हुन पाएन, केही दिनमै बेलायत फर्किनुभयो ।

म अमेरिकामा पाँच वर्ष बसेँ । टेक्सासस्थित युएनटी युनिभर्सिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्रेजुएट गरेपछि नेपाल फर्किएकी हुँ । मेरो जीवनमा सबैभन्दा मन पर्ने कोही थियो भने उहाँ नै हो । त्यसैले उहाँलाई सधैँ सम्झिएर बसेँ । घर परिवारमा पनि उहाँसँगको प्रेमबारे थाहा थियो । बिहे गरे पनि हुन्छ भन्नेसम्मको कुरा उठेको थियो । तर, सबै कुरामै सीमित भए ।

अमेरिकाको एकछिनको भेटपछि उहाँसँग मेरो भेट कहिल्यै भएको छैन । फेसबुकमा साथी पनि छैनौँ । उहाँप्रतिको प्रेम सम्झिँदा बिझाउँछ मलाई । तर, म अझै उहाँकै प्रेममा अल्झिएको छु । त्यसैले त दिनदिनै उहाँको फेसबुक सर्च गर्छु, उहाँका फोटो हेर्छु, उहाँबारे अपडेट भइरहन्छु।

उहाँसँग म अनकन्डिसनल प्रेममा छु किनभने उहाँको पारिवारिक जीवन सेटल भइसकेको छ । विवाह गरिसक्नुभएको छ । सन्तान पनि जन्माइसक्नुभएको छ । तर, पनि उहाँलाई नै म प्रेम गरिरहेछु । छोटो समयमै हाम्रो प्रेम नजोडिँदै टुट्यो र उहाँले अर्को बाटो लिनुभयो । म उहाँको जीवनमा कुनै बोझ बन्न चाहन्नँ, तर चोखो माया गर्छु-गरिरहन्छु ।

मेरो जीवनको पहिलो अनकन्डिसनल प्रेम उहाँ नै हो । त्यो दिन सम्झेर म धेरै भावुक हुन्छु । उहाँसँग एकपटक, त्यो पनि छोटो समय भेट भयो, तर उहाँप्रतिको फिलिङ्स नराम्रोसँग गढ्यो । आज सम्झिँदा हेरूँ भने सँगै खिचेको एउटा फोटोसमेत साथमा छैन । लाग्छ, एउटा फोटो मात्रै भइदिएको भए पनि कति खुसी हुन्थेँ होला । सोच्छु, उहाँको बिहे नभइदिएको भए हुन्थ्यो । तर, जे हुनु भइसक्यो, अब एकपटक भने पनि भेट्न पाऊँ र मनभरिका कुरा राख्न पाऊँ ।

मैले उहाँप्रतिको प्रेमकै कारण फिल्म ‘राघव’मा प्रेमीको नाम कालु राखेँ । किनभने उहाँलाई मैले कालु नामले बोलाउँथेँ । उहाँसँग छुटेपछि केही केटा मसँग अफेयरमा रहन चाहे । तर, मैले सकिनँ । कुनै फिलिङ्स नै आएन । कसैसँग सँगै हिँड्दा पनि उहाँकै सम्झनाले सताउँछ । उहाँलाई गुमाएकोमा अहिले धेरै पछुतो छ ।

जब प्रेम दिवस आउँछ, तब याद झन् बढी आउँछ । उहाँप्रति मेरो सम्मान र इज्जत अहिले पनि छ । तर, अरू कसैको भइसकेकाले फोन गर्ने, फेसबुक च्याट गर्ने सम्भावना छैन । र, अरूसँग पनि जोडिन सक्दिनँ । प्रेम प्रस्ताव त आउँछ, तर कालुसँगको प्रेम यादले कसैसँग जोडिन नै दिँदैन । हो, म अहिले एक्लै छु, उहाँकै याद मनमा बोकेर ।-नयाँ पत्रिकाकाबाट ।

Comments
Related News