अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि स्वास्थ्य शिविर

सिनेपत्र/काठमाण्डौं

अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो ।

काठमाडौंबाट सुदीप पण्डितसहितको चिकित्सकीय टोली लिएर उनी त्यहाँ पुगेकी हुन् । त्यहाँ उनले बाढी प्रभावितको स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि पनि वितरण गरिरहेकी छन् ।

फार्मेसिस्ट समेत रहेकी केसी बाढी प्रभावितको उद्धार, राहत संकलन र वितरणमा खटिएकी छन् । पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजित शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन ।

केसीले बाढी प्रभावितलाई खाद्यन्न, लत्ताकपडा, सरसफाइ सामाग्री तथा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । साथै, मनोवैज्ञानिक उपचारस्वरुप खेल्न सकिने राहतका सामग्री पनि दिएकी छन् ।

नुवाकोट टुप्चेकी स्थायी बासिन्दा केसीले बाढीमा केही आफन्तलाई पनि गुमाएकी छिन् । त्यो पीडाको बाबजुद आफू राहत र उद्वार कार्यमा खटिएको रजनी बताउँछिन् ।

Comments
Related News