गुरुङ भाषाको फिल्म ‘माराय ट’ (सुनको फूल)

हाम्रो कला/लमजुङ

बेलायत र हङकङबाट प्रदर्शन सुरु गरिएको गुरुङ भाषाको फिल्म ‘माराय ट’ (सुनको फूल) को नेपालमा प्रदर्शन सुरु भएको छ ।

चैत १२ मा बेलायत र १३ मा हङकङमा प्रदर्शन गरिएको उक्त फिल्म शनिबार बेंसीसहरको अन्नपूर्ण चलचित्र मन्दिरमा दुई शो गरिएको छ । छायांकनस्थल भुजुङमा पनि शो गरिएको छ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा ९५ प्रतिशत छायांकन गरिएको उक्त फिल्मका केही दृश्य पोखरा र एउटा गीत माछापुच्छ्रे बेसक्याम्पमा सुटिङ गरिएको थियो । फिल्मले संकटमा परेको गुरुङ संस्कृतिलाई जोगाउन सन्देश दिने निर्देशक मनोज गुरुङले बताए । ‘गुरुङ भाषा नबुझ्नेका लागि नेपाली सबटाइटल पनि राखेका छौं,’ उनले भने, ‘हराउन लागेका संस्कार मन पराउनेका लागि फिल्न सन्देशमूलक छ ।’

फिल्म दुई दशकअघिको परिवेशमा आधारित रहेको उनले जनाए । निर्माण युनिटले उक्त फिल्म जेठ १३ मा पोखरामा पनि देखाउने भएको छ । ‘स्वदेश तथा विदेशमा प्रदर्शनका लागि तयारी भइरहेको छ,’ निर्देशक गुरुङले भने । लडाइँमा परेका लाहुरेले समेत पेन्सन पाउन नसकेको कथावस्तु समेटेको फिल्ममा गुरुङ पुरोहित घ्याब्रेपच्युको रीति चलाउने विधि पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा हराउन थालेको संस्कार देखाउन खोजिएको छ । गाउँले दौंतरीबीचको त्रिकोणात्मक प्रेमकथा पनि फिल्म छ ।

गायन क्षेत्रको गण्डकी ताराबाट उदाएका मनोजले यसअघि गुरुङ फिल्म ‘च्हयाल्याबै ट’ (ओइलिएको फूल) र ‘थु’ (साथी) निर्देशन गरिसकेका छन् । कवि केयरसिंह गुरुङको कथामा करिब १५ लाख खर्च भएको ‘माराय ट’ निर्माणमा लगानी हङकङ बस्दै आएका रक्षा गुरुङ, राम गुरुङ, मनबहादुर गुरुङ, काशी गुरुङ र मनोज गुरुङको छ । साजन गुरुङ, कमल गुरुङ, निस्ता गुरुङ, बिमा गुरुङ र जेनी गुरुङलगायतको मुख्य भूमिका छ । कान्तिपुर दैनिकमा खबर रहेको छ ।

Comments
Related News