बलिउडका चर्चित स्टारहरुले गरे अर्नब विरुद्ध मुद्धा !

सिनेपत्र/काठमाण्डाै‌

भारतीय चलचित्र उद्योग बलीवुडका केही सबभन्दा ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको “गैरजिम्मेवार रिपोर्टिङ”को विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

बलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले पत्रकार अर्नब गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेपछि अभिनेत्री कंगना रणावत रुष्ट बनेकी छिन् ।

‘केही मिडिया हाउसले गैरजिम्मेवारीपूर्वक’ रिपोर्टिङ गरेको भन्दै उनीहरुले सोमबार मात्र दिल्ली उच्च अदालतमा मुद्दा हालेका छन्।

यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो।

मुद्दा दायर गर्नेहरुमा बलिउडका तीन खान आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश छन् ।

महिनौँसम्म यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङजस्ता गम्भीर समस्या रहेको आरोप लगाएका थिए ।

पत्रकार गोस्वामीले सलमान खानलाई लाइभ टेलिभिजनबाटै झपारेका थिए। उनले सुशान्तको मृत्यु प्रकरणबारे किन नबोलेको भन्दै प्रश्न गरेका थिए।

गोस्वामीसहित टेलिभिजन च्यानलविरुद्ध बलिउडका चर्चित हस्तीहरुले मुद्दा हालेपछि कंगना रणावतले एक ट्वीट गरेकी छिन् जहाँ उनी बलिउडविरुद्ध खनिएकी छिन् ।

उनले ट्वीटमा भनेकी छिन्,‘बलिउड ड्रग्स, शोषण, नेपोटिज्म र जिहादको नाली हो। यसलाई सफा गर्नुको साटो ह्यासट्यागको प्रयोग गरिएको छ। म त भन्छु मलाई पनि मुद्दा हाल्दा हुन्छ। जबसम्म म जीवित छु, तबसम्म म सबैको वास्तविकता पर्दाफास गर्नेछु।’

उनी भन्छिन्,‘ठूला स्टार नायकले महिलालाई बस्तुकरण मात्र गर्दैनन् उनीहरु नयाँ जवान महिलाको शोषण पनि गर्छन्। उनीहरु सुशान्त सिंह राजपुतजस्ता युव कलाकारलाई फस्टाउन दिँदैनन्। ५० वर्षको उमेरमा उनीहरु विद्यालयका छात्रको भूमिका निर्वाह गर्न चाहन्छन्।’

Comments
Related News