चलचित्र ‘कबड्डि कबड्डि कबड्डि’ को देशभर आक्रमक व्यापार

सिनेपत्र/काठ्मान्डौ
संविधान दिवसको अवसर पारेर हिजो सुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डि कबड्डि’ ले बक्स अफिसमा राम्रो व्यापारको सुरुवात गरेको छ।रामबाबु गुरुङ निर्देशित चलचित्र हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् ।
राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो चलचित्र शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा चलचित्रलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए, भने मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिएका थिए ।
शुक्रबार चलचित्र हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि चलचित्रको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले चलचित्रलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १/१ सोज थपेका छन् । वितरक मनोज राठीले चलचित्रले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्न सफल भएको दाबी गरेका छन् ।
सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, सिद्धार्थलगायतका सिंगल थिएटर र मोफसलका प्रमुख स्टेशनमा पनि शुक्रबार चलचित्रको टिकट खोसाखोस भएको हल सञ्चालकले बताएका छन् । चलचित्र हेर्नका लागि हलमा १६ वर्षदेखि ३५/४० वर्ष उमेर समुहका दर्शकको भीड देखिएको छ । चलचित्रले पहिलो दिन १ करोड ४७ लाखको व्यापार गरेको वितरक कम्पनी स्टेशन फाइभले फेसबुकमार्फत् जानकारी दिएको छ ।
चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको भुमिका रहेको छ।




