साम्राज्ञी राज्यलक्ष्मी शाहा अभिनित चलचित्र ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक

सिनेपत्र/काठ्मान्डौ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहा र अकिंत शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र वैदेशिक रोजगारीको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ ।

ट्रेलरमा देखाइए अनुसार अभिनेत्री साम्राज्ञीले यो चलचित्रमा गाउँले युवतीको भूमिका निभाएकी छन् । उनले पहिलो पटक यस प्रकारको भूमिका निभाएकी हुन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले चलचित्र प्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।
साम्राज्ञी र अंकितसँगै यस चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

अशोक शर्मा निर्देशित चलचित्रको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि  मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति चलचित्रकी सहायक निर्देशक हुन् । यस चलचित्रको सम्पादन मित्र देवले गरेका छन ।

यो फिल्ममा झण्डै २ दशक अगाडिको सुपरहिट चलचित्र ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । चलचित्र ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका निर्देशक शर्माका छोरा अंकितले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।

Comments
Related News