स्विटजरल्यान्डमा ‘सेतो सूर्य’ ले जित्यो चार अवार्ड
हाम्रो कला/स्विटजरल्यान्ड
नेपाली फिल्म ‘सेतो सूर्य’ ले स्विटजरल्यान्डमा सञ्चालित फ्रिबर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा सर्वाधिक चार विधामा अवार्ड जितेको छ । फेस्टिभलमा एक दर्जनभन्दा बढी नेपाली फिल्मका साथै सर्ट फिल्मले सहभागिता जनाएकामा दीपक रौनियार निर्देशित उक्त फिल्म भने नेपालका तर्फबाट अन्तर्राष्ट्रिय खण्डतर्फ एक्लो प्रतिस्पर्धी फिचर फिल्म थियो । दीपककै लेखनसमेत रहेको ‘सेतो सूर्य’ ले फेस्टिभलमा स्पेसल मेन्सन जुरी अवार्डसहित अडियन्स अवार्ड, इकुमेनिकल जुरी अवार्ड र द डन क्विजोते अवार्ड पनि पाएको हो ।
दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, आशा मगराती, सुमी मल्ल, अमृत परियारलगायतको अभिनय रहेको ‘सेतो सूर्य’ ले मुलुकमा चलेको विगतको सशस्त्र द्वन्द्व र उक्त परिस्थितिले परिवार, समाज र रहनसहन/संस्कृतिमा पारेको प्रभावलाई देखाउन खोजिएको छ । स्वदेशी दर्शक र समीक्षकबाट समेत राम्रो प्रशंसा बटुलेका दीपकले ‘सेतो सूर्य’ मार्फत विदेशी फिल्म महोत्सवमा समेत उपलब्धि हासिल गरिरहेका छन् । पछिल्लो उपलब्धिका रूपमा फ्रिबर्ग फेस्टिभल बनेको हो । फेस्टिभल जुरीले ‘सेतो सूर्य’ लाई राजनीति, परम्परा र धर्म–संस्कृतिको एउटा सीमित परिधिभित्र रहेर तयार पारिएको कुशल शिल्प भनी टिप्पणी गरेको छ । जुरीले ‘सेतो सूर्य’ लाई बुद्धिमत्तापूर्ण निर्देशकीय फिल्म मान्दै अवार्ड प्रदान गरिएको जनाएको छ ।
दसदिने महोत्सव आइतबार अवार्ड प्रदानसँगै सकिएको छ । अन्य नेपाली फिल्म भने फेस्टिभलले यस वर्षदेखि थपेको न्यु टेरेटोरी सेक्सनअन्तर्गत रही विशेष प्रदर्शनीमा राखिएका हुन् । उक्त फेस्टिभलमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईसहितको टोलीसमेत सहभागी थियो ।-कान्तिपुर दैनिक बाट ।




