कोरोनाले थलिएकाे नेपाली सिनेमा बजार

सिनेपत्र/काठमाण्डाै
कोरोना महामारीको कारण चलचित्र क्षेत्र अस्तब्यस्त भएका छन् । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण कुनै बेला खचाखच भरिने सिनेमा हलको ब्यापार ब्यवसाय ठप्प भएको छ । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हलमा कहिले नखुल्ने गरी ताला लागेको छ । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर सिनेमा हलका मालिकहरु आफ्नो पेशा परिवर्तन गर्न बाध्य भएका छन् । कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित भएपछि काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएर सपिङ मल बनाउन थालिएको छ । काठमाडौंको जयनेपाल सिनेमा घर र कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको छ । नेपालको अहिलेसम्मकै जेठो इतिहास बोकेको जय नेपाल सिनेमा हल बन्द हुनुले चलचित्रकर्मीहरु समेत निराश भएका छन् ।
सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेका छन् । भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा एक अर्बभन्दा बढी नोक्सानी भएको छ । चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको भेटिएको छ ।
सरकारले चलचित्र क्षेत्रलाई खुलाउन प्रयास नगर्दा उक्त क्षेत्रमा काम गर्ने कलाकार,लगायत आश्रित हजारौको रोजिरोटी गुमेको छ ।
त्यसमाथि पनि महामारीको अवस्था यसरी नै अझै केही वर्ष जाने हो भने सबै सिनेमा हल बन्द भएर भत्काउनुपर्ने सम्भावना छ । कोरोनाको समयमा सबैभन्दा चाँडो बन्द हुने र सबैभन्दा ढिलो खुल्ने तर दर्शक नआउने व्यवसाय पनि सिनेमा हल नै भएको छ ।
अहिले यातायात क्षेत्र खुला भएको छ । सडक तथा सार्वजनिक यातायातमा भिड बढ्न थालेको छ । तर चलचित्र क्षेत्र तथा हल सञ्चालकहरुमाथि कालो बादल मडारिनु पक्कै पनि चिन्ताको विषय हो ।
नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान नपाएपछि युट्युब तथा अन्य डिजिटल माध्यमबाट मनोरञ्जन लिने क्रम बढिरहेको छ । चलचित्रको ब्यापार गर्ने शैली परिवर्तन हुँदा करोडौं लगानी गरेर बनाइएका सिनेमा हलको अस्तित्व धरापमा पर्नु पक्कै राम्रो होइन ।
आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता हुँदा चलचित्र क्षेत्र पुनरुत्थान हुने सम्भावना समेत टर्दै गएको छ ।
अहिले पनि केही चलचित्रको छायांकन भैरहेपनि अधिकांश कलाकार फुर्सदिला भएका छन् । चलचित्रमा कामको अफर आउन छोडेपछि म्युजिक भिडियो तथा अन्य मसलेद्धारा गफगाफमा उनीहरुको दैनिकी वितिरहेको छ ।
त्यसैले, कोरोनाअघि देशभर करिब ३ सय चलचित्र घर चलेपनि कोरोनाले ब्यवसाय चौपट हुनु राज्यको लागि नै लञ्जाको विषय हो ।त्यसैले, सरकारले चलचित्र क्षेत्रलाई जोगाउन,बन्द भएका सिनेमा हलहरुलाई सुरक्षाको मापदण्ड अनुसार खुला गर्न तथा बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्न मुस्किल परेका कलाकारलाई संरक्षण गर्नु अति आवश्यक छ ।



