तीन दिने निशुल्क फोटो पत्रकारिता तालिम शुरु

सिनेपत्र/काठमाण्डाैं

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) नेपालको सहकार्यमा मंगलवार देखि काठमाण्डौमा पत्रकारकालागि तीन दिने फोटो पत्रकारिता तालीम शुरु भएको छ ।

विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताउनु भयो । ‘ पर्यटनको लागि फोटो आफैमा महत्वपूर्ण विषय हो । त्यसमाथी समाचारसंगै आउने फोटोले पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ । यो तालिमका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ,‘उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताउनु भयो । जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसंगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस भन्ने उद्धेश्यले यस प्रकारको तालीम आयोजना गरिएको बताउनु भयो । उहाँले यस अघि पनि पत्रकार महीलाहरुकोमात्र सहभागितामा फोटो पत्रकारिता तालिम सम्पन्न भएको जानकार दिनुभयो ।

तालीमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहीता लगायतका विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो । यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको संचालन, फोटोको महत्व यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

सहभागीहरुलाई बुधवार सुन्धारा,बुन्तपुर,रानी पोखरी लगाउतका स्थानमा लगी प्रयोगात्मक कक्षा संचालन गरिने एनएफपीजेका सदस्य तथगा तालीम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम एनएफपिजे नेपालका वरिष्ठ उपध्यक्षको अध्यक्षतामा एनएफपिजे नेपालका सागर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

यो पटक फोटो पत्रकारिता तालिमको लागि काठमाडौं उपत्यकाबाट मात्र नभई उपत्यका भन्दा बाहिरबाट धेरै पत्रकारहरुको सहभागिता रहेको छ ।

(फोटो सौजन्य : प्रदिप कुमार श्रेष्ठ)

Comments
Related News