उपन्यास ‘तँ’ (पहिलो यात्रा)

सिनेपत्र/काठमाण्डौं

लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । उहाँद्धारा रचित चर्चित उपन्यासको पहिलो अंश,

गर्मी उत्पात छ काठमाडौँमा यसपाली । पहिले पहिले त पानी पर्नासाथ जाडोले रौँ ठाडा हुने काठमाडौँमा पानी परे पनि गर्मी नै छ । असारको महिना यसै गर्मीको महिना, पानी परेर सडक हिलाम्मे छ । जोरपाटीतिर त साहित्यकारहरूले सडकमा धान रोपेर कविता वाचन गरेर सरकारलाई गिज्याए भनेर फेसबुकमा पनि समाचार पढेकै हुँ । सडक हाम्रो देशमा कच्चा नै बन्ने गरेका देखिन्छन् । यो कच्चा हुनुमा ठेकेदारहरूले दोषी सरकारलाई नै देख्छ । राजनैतिक दललाई सबैभन्दा बढी चन्दा ठेकदारले दिने गर्छन रे । पार्टी ठेकेदारकै चन्दाबाट चल्ने भएपछि जुनसुकै भएप नि सरकार पार्टीकै बन्ने हो र पार्टी नै ठेकेदारले चलाउने हुँदा कसले कारबाही गर्ने उनीहरूलाई ? जबसम्म अमूल्य मतदान भनिएको म तलाई किनेर सरकार बनिरहन्छ यो देशमा तबसम्म निर्माण कच्चा नै हुन्छ ।

म बसमा कौशलटारतर्फ गइरहेको छु । अत्यधिक ऋणका कारण मैले कटिङ्ग मेसिन बेचेपछि आफ्नो कार्यालयमा कम र कौशलटारमा बढी समय बिताउन बाध्य छु । त्यहाँ गएर म काम गर्छु, किन, किन कहिलेसम्मलाई हो मलाई त्यहाँका उपकरण आफैँले दुःख गरेर जोडेका झैँ प्यारा लाग्छन् । काम न हो आफैँसँग मेसिन हुदाँ नि म कहिले पो हाकिम भएँ र ? करिब डेढ घण्टाको सकसपूर्ण यात्रा गरेर म कौशलटार पुग्छु । फर्मा निस्किएको रहेछ । मनमा आनन्द आउँछ । एकै छिन सामाजिक सञ्जालमा गतिविधि नियाल्छु किनकि त्यहाँको वाइफाई मेरा लागि फ्री छ । फेसबुकका स्टाट्स र म्यासेज सबै सकारात्मक छन् । खुसीका छन्, उत्साहका छन् । ब्यान्डिङ्ग रूममा म एक्लै छु । अनायासै गीत गुन्गुनाउन पुग्छु ‘छा्डछु रक्सी, छाड्छु रक्सी, छाड्छु रक्सी म दुनियाँको नजरमा राम्रो बन्छु म’ गीत गाउँदै वाइफाई अफ गर्छु र फोल्डिङ्ग सुरु गर्छु । मोबाइलमा रिङ्ग आउँछ फोन घरबेटी रामको रहेछ । उसलाई म आदर गर्छु, सम्मान गर्छु ।

मैले फोन उठाए र बोलेँ, ‘गुरु नमस्कार’ ‘केका नमस्कार, मेरो छोरो पुलिस लाम कि तँ आउँछस् बेइजात तँ भागेर हिँडेको छस् रे, मलाई नमस्कार चाहिएन आएर भाडा तिरेर तेरो सामान लग नत्र म जे मुद्दामा पनि तँलाई फँसाउन सक्छु, तैँले चिनेको छस् नि मलाई म पूर्वसिडियो हुँ र मेरो छोरो बहालवाला डिएसी हो ।’ मलाई पनि रिस उठ्यो र बोलेँ— ‘तपाईंको भाडा कति नै बाँकी छ र, त्यो तिर्ने हो तिर्ने सर्तमा नै बसेको हुँ । तपाईं मेरो घरबेटी पूर्व सिडियो, डिएसपीको बुबा भएर मलाई फरक पर्दैन तर तपाईंले बोलेको कुराले मलाई होइन तपाईंलाई शोभा दिँदैन । २३ गते मेरो कार्यक्रम छ २३ गते पछि म आउँछु, यदि अगाडि नै चाहिएको भए जे गर्न सक्नुहुन्छ गर्नुहोस् तर मुख सम्हालेर बोल्नुस् ।’ ‘
तैले मलाई सिकाउनुपर्दैन, तँ जस्ता कतिलाई तह लगाएँ, झुटा मुद्दामा फँसाए, हेर तँ कुनै प्रधानमन्त्री र मन्त्री होइनस् तेरो कार्यक्रमसम्म म किन पर्खुं तुरुन्तै अहिल्यै आइहाल । मलाई बोल्न सिकाउने पाजी ।’ बुढो सन्किएर बोल्यो । ‘चुप लाग्नुस् तपाईं म २३ गतेभन्दा अगाडि आउँदिन त्यसपछि मात्र आउँछु सकेको गर्नु ।’ मैले फोन राखिदिएँ । मेरो संवाद अर्को कोठामा सुनिएछ । सबै जना मतिर आए र बोले, ‘हामीले परिकल्पना पनि गरेका थिएनौँ ढकालले यसरी चर्केर बोल्छ भनेर ।’ ‘मैले पनि परिकल्पना गरेको थिइनँ— मैले आदर्श मानेको मान्छेसँग यसरी च्याँठिएर बोल्नुपर्छ भनेर, भन्न त मलाई त्यस घरमा पहिले बस्ने र छोडेर जानेले भनेका हुन् यसको नाम मात्र राम हो यो बुढो अहङ्कारी रावण नै हो ।’ मैले बोलेँ । ‘को हो नि त्यो ?’ उनीहरूले सोधे ।
‘बालाजुको घरबेटी ।’ मैले जवाफ दिएँ । ‘त्यो नक्कली डाक्टरको बाउ ?’ अपरेटरले सोध्यो । ‘बंगलादेशमा पढेर आएको हो सक्कली नि होला ।’ मैले जवाफ दिएँ ।
‘तर पत्रिकामा त नक्कली डाक्टरको सूचीमा त आएको थियो नि’ उसले बोल्यो । ‘त्यो त थियो ।’ मैले सङ्क्षिप्त जवाफ दिएँ । ‘तँ बालाजुमा बसेको ठाउँ त राम्रै हो तर जब बुढाले कवाडी सामान थुपार्न थाल्यो तब लास्टै फोहोर तैले त्यहाँबाट अफिस सार्नासाथ गोदाम नि सार्नु प¥थ्र्यो तैले गल्ती गरिस हुन त काठमाडौँमा कहाँ भन्ने बित्तिकै गोदाम पाइन्छ र । जे हुनुभयो त्यो मख्खीचुसको भाडा क्लिलियर गरेर सारिदे गोदाम ।’ साहुले सल्लाह दिए । ‘सार्दिन्छु, अब त्यसलाई भाडा तिर्ने पुगो मेरो तर्फबाट, मान्छे जति नै विद्वान् भए पनि उसको सोच द्ररिद्र नै हुँदोरहेछ । मलाई आज एउटा पन्चायत कालीन सिडियोको घरमा घटेको घटनाको याद आइरहेछ । झट्ट सुन्दा मैले नि पत्याइनँ तर आज चाहिँ विश्वास लाग्यो । सबै सिडियो न्यायप्रेमी हुँदा रहेनछन् ।’ मेले बोले । ‘के घटना ?’ साहुले जिज्ञासु नजरले सोध्यो ।

‘सिडीयोकी छोरीले आफूसँगै पढ्ने अलिक गरिब केटासँग लभ गरिछन् । दुवै केटाकेटी एक अर्को बिना मर्ने अवस्थामा पुगेको बेला एक कान दुई कान हुँदै सिडियोको कानमा पुगेछ । सुरुमा सिडियोले त्यो केटालाई एउटा आरोपमा पुलिस पठाएर थुनाएछ । तर केटाका बाबुले अन्चलाधीशको पावरमा छोरो छुटाएर लगेछ । त्यो घटनाले सिडियोलाई अपमानबोध भएछ । साँझ घर आएर छोरीलाई कुट्दा कुट्दै मारेछ । छोरी मारेको आमाले टुलुटुलु हेरिन् रे, अरू छोराछोरीले के नै गर्न सक्थे र टुलुटुल हेर्नबाहेक । छोरीका पिरले आमा केही समयमा मरिन् रे बच्चाहरू हुर्किएपछि बाउसँग कोही बसेनन् रे । सिडियो देवघाटतिर बस्थ्यो रे पछि बेपत्ता भयो रे ।’ मैले बताएँ । ‘यो बुढो पनि त्यस्तै क्रिमिनल होला नत्र तेत्रो वर्ष त्यही घरमा बसेको त्यत्तिका किताब छापिदिएको मान्छेलाई कसरी यस्तो भन्न सक्छ ?’ साहुले भन्यो ।

‘त्यो चाहिँ होइन यो बुढो चाहिँ प्रेमलाई स्वीकार गर्ने खालको मान्छे हो । मैले कसरी थाहा पाएको भने उसका अगाडि पट्टी घरमा एउटा प्लेक्स बनाउने कम्पनी थियो । त्यो प्लेक्स बनाउने मान्छे अन्याय नसहने । यो घरबेटीसँग त्यो सँगसँगै बाझ्थ्यो । एक दिन तेरीमा तिघ्रे नेवार तँलाई भनेर गाली ग¥यो तब त्यो प्लेक्सबालाले तँ चाहिँ कुन गतिलो पण्डित होस् र तेरी छोरी पनि जोगीले लगेको छ त ? जोगीको ससुरो धेरै नबोल् । होइन भने जातपातका कुरा नगर । जति नै पण्डित देखिए पनि तेरो सबै थाहा छ ।’ उसले त्यसो भनेपछि बुढो लुसुक्क घरभित्र छिरेको थियो । ‘बुढो, जब कवाडीको व्यापारमा त्यो उमेरमा आएर लाग्यो नि तबदेखि बुढो पैसाको लागि मख्खीचुस नै रहेछ भन्ने थाहा पाएको मैले पनि । हेर न सबै अफिसका कवाडी कम्प्युटर, ब्याट्री, हस्पिटलका उपकरण उसैले उठाउँछ । मान्छे चाहिँ सारा चिनेको रहेछ, फेरि सबैले उसैलाई दिँदा रहेछन् त्यत्रो पोस्टको मान्छेको पनि कवाडीप्रतिको मोह देखेर । हुन त गति नै छोडेपछि कसको के लाग्छ र म त बरु हलो जोतेर खान्थेँ तेत्रो टोलै थर्केने भाषा केही नबुझ्ने मान्छे भेला गरेर खान सक्दिनथे । आँ जे होस् मेरो यो किताब छापेको पैसा बिस्तारै तिर्नु तर त्यो बुढाको घर छाडिदेऊ ।’ उसले सहानुभूति प्रकट गर्दै बोल्यो । म काममा लागेँ । काम भन्दा नि सात सातवर्ष सँगै बसेको एउटा व्यापारीले अर्को व्यापारीलाई बोलेको शब्दले मन अमिलो बनायो । आखिर म जे भए पनि प्रकाशक न थिएँ एउटा कवाडीको कारोबार गर्नेले मलाई यसरी हेप्यो । अहँ होइन ऊ कवाडी मात्र, लेखक पनि हो । पूर्व सिडियो हो । पत्नीवियोगमा तड्पिएको एउटा विधुर पनि हो । उसलाई मैले क्षमा दिनुपर्छ । आखिर उसको स्त्रीलम्पट चरित्रसँग म परिचित नै छु । खुसी हुँदा उसले मलाई सबै कुरा भनेको पनि त छ । तर यो गालीले यो बुझिन्छ भैँसी पाल्नेसँग सङ्गत गरे दुध दही खान पाइन्छ । माछा पाल्नेसँग सङ्गत गरे माछा खान पाइन्छ, सागसब्जी रोप्ने सँग सङ्गत गरे सागसब्जी खान पाइन्छ । ऊ त कवाडीको व्यापारी न हो देशी भैयालाई जसरी थर्काउँथ्यो मलाई पनि उसै गरी थर्कायो । आखिर ठूलाबडा घर भएकाले रिसाएर भने पनि प्रेमसाथ भने पनि हामी कोठाबासीलाई मिठो गरी सम्बोधन गर्ने शब्द नि तँ नै हो । मनमा यस्तै कुरा खेलाउँदै म काममा ध्यानमग्न भएँ । क्रमश :

आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को पहिलो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।

Comments
Related News