घुइँचो लाग्यो ‘६ पात्रको एकलाप’ मा (फोटो फिचर)

सिनेपत्र/काठमाण्डाै
कोभिड-१९ महामारीपछि उत्पन्न लकडाउनपछिको पहिलो खुलेको बत्तीसपुतलीस्थित शिल्पी थियटरमा नाटक हेर्न दर्शकको घुइँचो लागेको छ । माघ १ गते बिहीबारदेखि शुरु भएको ‘६ पात्रको एकलाप’ नामक नाटक प्रदर्शन भएसँगै हेर्नेको घुइँचो लागेको हो ।
गएको हप्तादेखि खुलेका सिनेमा हलमा खासै दर्शक छैनन् । काठमाडौं उपत्यकाका अधिकांश नाटकघर पनि सुनसान नै छन् । तर लकडाउनपछि पहिलोपटक नाटक मञ्चन गरेको शिल्पी थियटरमा भने दर्शकको कमी छैन् ।

शनिबार दिउँसो र बेलूकी गरी दुई वटै शोमा दर्शकको घुईँचो थियो । कोरोना महामारीपछि सरकारकै अनुमतिमा सञ्चालन गरिएको नाटकघरमा स्वास्थ्य मापदण्डको पालना गरिएको छ ।
दर्शकको ज्वरो नापेर स्यानिटाइजर र मास्क लगाउन दिएर मात्रै नाटकघरमा छिर्ने अनुमति दिइएको छ । नाटकघरभित्र सामाजिक दूरी पनि कामय गरेर कुर्सीहरु राखिएका छन् । अहिलेसम्म भएका तीन वटा शोमा दर्शकको उल्लेख्य उपस्थिती छ ।

युवराज घिमिरेले परिकल्पना तथा निर्देशन गरेको नाटकमा ६ जना महिला पात्रको अभिनय छ । खासगरी समाजमा व्याप्त भिन्दाभिन्दै विभेदका श्रृङ्खलालाई महिला पात्रले जीवन्त अभिनयमार्फत चित्रण गरेका छन् ।
जुन हेर्दा, कुनै नाटक लाग्दैन । आफ्नै समाजका आमाबुवा, दाजुभाई दिदी बहिनी र साथीभाईले भोगेको यतार्थ लाग्छ । पवित्रा खड्काले कोरियोग्राफी गरेको नाटकमा खड्कासँगै, संगीता उराव लगायत ६ जना महिला पात्रको जीवन्त अभिनय छ ।
शिल्पी थियटरमा हरेक दिन बेलुकी ४ बजे प्रदर्शन भइरहेको नाटक माघ १० गतेसम्म चल्नेछ ।







