मधेस-पहाडको कथा र सौन्दर्यमा चलचित्र ‘केटी हराएको सूचना’

सिनेपत्र/काठमाण्डौै
वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए।
निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । उनले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रीत रहेको बताए । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन्। अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।




