चलचित्र ‘मन्त्र’को प्रदर्शन मिती सार्वजनिक, नायिका दिया सगरमाथा आरोहणमा

सिनेपत्र/काठमाण्डाैं
चलचित्र ‘मन्त्र’ले प्रदर्शनको नयाँ मिती सार्वजनिक गरेकाे छ । आउदो वर्षको वैशाख १६ गतेलाई प्रदर्शन मिती तय गरिएको हो । मंगलबार चलचित्र विकास बोर्डमा कार्यक्रम गर्दै निर्माण पक्षले मिति घोषणा गरेको हो ।
अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुनको मुख्य भूमिका रहेको चलचित्रलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यस्तै फिल्मका कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत रहेको छ ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मनास्लु हिमालको बेसक्याम्पको कथावस्तु प्रस्तुत गरिएको छ । कार्यक्रममा ‘मन्त्र’ अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले बताए ।
हिमाली प्रेमकथा प्रस्तुत गरिएको चलचित्रको यस अगाडि गत २८ माघमा प्रदर्शन तयारी रहेकोमा कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि चलचित्र रिलिज हुनसकेको थिएन ।

साथै कार्यक्रममा चलचित्रको नायिका दिया पुन सगरमाथा आराेहणको तयारीमा रहेकाले उनको आरोहण सफलताको कामना गर्दै उनलाई चलचित्रको ब्यानर सहित सगुनको दही खुवाएर निर्माण पक्षले शुभकामना दिएको छ ।
तस्विरहरु: संजिव पाैडेल





