चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ बन्ने, ‘बुने’ अर्थात् बर्षा शिवाकोटीको अभिनय नरहने

सिनेपत्र/काठमाण्डाैं
आज भन्दा सातबर्ष अघि प्रदर्शन भएको चलचित्र ‘पशुपति प्रसाद’को टिमले ‘पशुपति प्रसाद २ भष्मे डन’ निर्माण गर्ने भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सात बर्ष पुगेको उपलक्ष्यमा सेलिब्रेशन सँगै नयाँ चलचित्र निर्माण घोषणासँगै चलचित्रका कलाकार तथा प्राविधिकहरु सार्वजनिक गरेको छ ।
खगेन्द्र लामिछानेको लेखन र निर्माण मात्र रहको चलचित्रलाई दीपेन्द्र के. खनालले नै निर्देशन गर्नेछन् । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । चलचित्रमा कृष्ण भारद्धाज र सुवास भुसालले संगीत रहने छ भने डिओपीमा निरज कँडेल, छायांकार कृष्ण थापा, सम्पादक दिर्घ खड्का रहेका छन् ।
चलचित्रमा ‘पशुपति प्रसाद’का मुख्य कलाकार मध्येका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटीको चलचित्रमा अभिनय नरहने भएको छ । ‘बुने’ अर्थात् बर्षा शिवाकोटीको चलचित्रमा अभिनय नरहने बारे सिनेपत्रको जिज्ञासामा चलचित्रका लेखन तथा निर्देशक लामिछानेले ‘पूर्वग्राह राखेर नभैं अर्थपूर्ण र तर्कसँगत किसिमले कथालाई प्रस्तुत गर्ने आफुसँगै अन्य कलाकारहरुको पनि अभिनय नरहेको’ बताए ।
साथै कार्यक्रममा पत्रकारको एक प्रश्न-, ‘तपाई पशुपति प्रसाद २ मा हुनुहुन्न र तपाईको ठाउँमा स्वस्तिमा खड्का हुनुहुन्छ भन्ने थाहा पाउँदा मन दुखेन ?’ भन्दा बर्षाले जवाफमा-, ‘सुरुमा सुन्दा त मन कस्तो कस्तो भयो तर पछि बुझ्दा पशुपति प्रसादको सिक्वेल नभएर भष्मे डनको क्यारेक्टरलाई लिएर चलचित्र बन्न लागेको भन्ने बुझेपछि कन्भिन्स भएँ ।’ भनेर बताइन ।
चलचित्र आगामी बर्ष २०८० को फुलपातीमा प्रदर्शन आउने निर्माणपक्षले बताएको छ ।



