बिस्केट जात्रा चैत २८ गतेदेखि सुरु हुने

हाम्रो कला /भक्तपुर 

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ ।

जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ । जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिङ्गो उठाउने स्थान ल्यासिङ्खेलमा ल्याइपुर्‍याइएको छ ।

यस वर्ष चैत २८ गतेदेखि सुरु हुने सो जात्राका लागि २७ गतेसम्म रथ निर्माण, रङ्गरोगनलगायत सम्पूर्ण काम सक्ने गरी काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । जात्राका लागि रु २५ देखि ३० लाख लाग्ने अनुमान कार्यालयको छ ।

जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रजिअ द्रोण पोखरेलको नेतृत्वमा जात्रा सञ्चालक, पुजारी, नाइके, गुठी संस्थान, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानीय समाजसेवी एवम् सरोकार भएका निकाय र स्थानीय क्लबसँग पटक पटक छलफल भइरहेको छ ।

सौरमास(विसं)का आधारमा चल्ने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

भूकम्पका कारण रथ लैजाने मार्गका धेरै घर अझै पनि टेकोमा अड्याइएको कारण त्यस्ता घर नोक्सान नहोस् भनेर यस वर्ष भैरवको रथ लैजाने मार्ग छोट्याइने भएको छ । सोअनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेसम्म र तल्लोपट्टि बोलाछेसम्म मात्रै रथ लैजान दिइने छ ।

सुरुको दिन तौमढीमा रथ तानिने, चैत मसान्तमा ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानिन्छ । सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

Comments
Related News