घोडेजात्रा किन मनाईन्छ ?
हाम्रो कला/काठमाडौं/हाम्रोपात्रो
काठमाडौ वासीहरुले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रमनै घोडेजात्रा मनाउन पछाडीको एउटा कारण हो । कथा यसरी शुरु हुन्छ….. परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने बुढापाकाहरुको भनाई छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।
घोडेजात्रामा उपत्यकामा हुने विशेष क्रियापलापहरु
आजको विशेष दिन काठमाण्डौ उपत्यकामा एउटा अद्भूत दैवीय मिलन हुने गर्दछ ।
आजको दिन भद्रकाली, लुमडि, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याईन्छ । वर्षमा आजको दिनमात्र यस्तो दिन हो जब यि सबै भैरव प्रतिमाहरुले एकअर्कालाई भेट्दछन् । यसअर्थमा हामीले आजको दिनलाई दैविय मिलनका रुपमा ब्याख्या गरेका हौं ।
घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननिय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेललाई डाक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सिमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाण्डौ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।
पाटनको वालकुमारी क्षेत्रमा आजको दिन स्थानिय घोडाहरुलाई मदीरा खुवाएर चढ्ने चलन छ । यसरी मदीराको नशामा रहेका घोडाहरु हिँडेको अनि कुदेको हेरेर रमाईलो मान्ने चलन पनि रहेको छ । सुस्तरी यस्ता चलनहरुमा कमी भने आँउदै गएको छ । स्मरण रहोस्, एकिकरण पछी पनि भक्तपु, पाटन अनि काठमाडौका विच आजको दिन अर्थात घोडेजात्राको दिन कुन शहरमा कस्को घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो, यस जात्राको रगंमा उपत्यकाका शहरहरु आज पनि आ आफ्नै ढगंमा रंगिने गरेका छन् ।


