गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ सार्बजनिक

सिनेपत्र/काठमाण्डाैं

नेपाल प्रज्ञाप्रतिष्ठानको प्रज्ञा डबलीमा स्व. गोविन्दप्रसाद लोहनीको सम्झनामा कृपा पब्लिकेशन हाउसद्वारा प्रकाशित ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’को सार्वजनिकीकरण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति श्री गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा वयोवृद्ध विद्वानहरू श्री कृष्णप्रसाद भण्डारी, श्री भैरव रिसाल र श्री अरविन्दनाथ रिमाल विशिष्ट पाहुनाका रूपमा आमन्त्रित हुनुहुन्थ्यो भने समाजका विभिन्न क्षेत्रका विद्वानहरू श्रीमती ज्ञानु पाण्डे, रमा शर्मा, श्री कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, डा. जयराज आचार्य, डा. विश्वम्भर प्याकु¥याल, डा. खेमकोइराला बन्धु, डा. रत्नशमशेर राणा, डा. मोहन लोहनी, डा. मदनकुमार भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, पदम ठकुराठी, पुस्कर लोहनी, प्रद्युम्नविक्रम शाह आदिले गोविन्दप्रसाद लोहनीका योगदानका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।

स्व. लोहनीका पुत्र कपिल लोहनीको संयोजकत्व र शारदा मासिक पत्रिकाका सम्पादन तथा कवि विमल भौकाजीको सम्पादकत्वमा प्रकाशित उक्त ग्रन्थमा कूल १२३ जना विभिन्न क्षेत्रका विद्वत व्यक्तित्वहरूको लिखित स्मृति लेख तथा गोविन्दप्रसाद लोहनीका २० उत्कृष्ट लेख, रचना, अन्तर्वार्ता तथा डायरी सामेल छ ।

वि.सं. १९८५ मा जन्मनु भएका स्व. गोविन्दप्रसाद लोहनी नेपाली राष्ट्रिय काङ्ग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य हुनुका साथै नेपालका अग्रणी माक्र्सवादी लेखक तथा प्रचारक हुनुहुन्थ्यो र उहाँ साहित्यमा पनि त्यति नै प्रखर हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैङ्कका संस्थापक मध्येका एक उहाँ नेपालमा भारतीय मुद्रालाई विस्थापन गरेर नेपाली रुपैयाँको प्रचलन गराउने र भारु १०० को नेरु १६० विनिमय दर कायम गर्ने कार्यका प्रमुख व्यक्ति हुनुहुन्थ्यो । त्यस्तै नेपालमा भूमिसुधारको निम्ति आवश्यक पुर्वाधार र सोच बनाउने प्रमुख व्यक्ति हुनुका साथै उहाँले योजना आयोगका सदस्य र पाकिस्तानका निम्ति नेपाली राजदूतका रूपमा पनि काम गर्नु भयो । नेपालमा पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्रको पुनर्वहालीको कार्यमा उहाँले ठूलो योगदान गर्नुभएको थियो । २०७७ साल पौष ११ गते शनिबारका दिन उहाँको निधन भयो ।

कृपा पब्लिेकेशन हाउसका अध्यक्ष कपिल लोहनीद्वारा सञ्चालित अन्तत्र्रिmया शैलीको सो कार्यक्रमको अन्तमा प्रमुख अतिथिले गोविन्दप्रसाद लोहनीको योगदानको चर्चा सहित उहाँलाई श्रद्धाञ्जली दिनुका साथै उहाँका केही कृतिहरू नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरिसकेको र भविश्यमा पनि त्यस्ता कृतिहरूको प्रकाशन गर्ने सोच राखेको कुरा बताउनु हुँदै दिनहुँ कतै न कतै पुस्तक विमोचनका कार्यक्रमहरूको आयोजना हुने भएता पनि पहिलो पटक अन्तत्र्रिmया शैलीमा आयोजित यो कार्यक्रममा धेरै जना विद्वानहरूका विचारहरू सुन्ने मौका मिलेकोले यस्तो शैलीमा कार्यक्रम प्रस्तुत गरेकोमा कृपा पब्लिकेशन हाउसलाई धन्यबाद ज्ञापन गर्नुभयो । श्रीमती समिना खनाल ‘पृथा’द्वारा सञ्चालित तथा उद्घोषित सो कार्यक्रमको अन्तमा साहित्यकार बिमल भौकाजीले उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

Comments
Related News