‘चंगुल’को टाइटल गीत ‘झाँक्री’ सार्वजनिक, ढ्याङ्ग्रोसहितको र्‍यापमा भ्रष्ट प्रवृत्तिमाथि प्रहार

सिनेपत्र/काठमाडौं

चलचित्र ‘चंगुल’ को टाइटल गीत ‘झाँक्री’ सार्वजनिक गरिएको छ । ढ्याङ्ग्रोको तालसँगै र्‍याप शैलीमा तयार गरिएको गीतले समाजमा जरा गाडेको भ्रष्ट प्रवृत्तिमाथि सांकेतिक प्रहार गर्न खोजेको छ ।

गीतमा नेपालको सुन्दर देशलाई ‘सतीले सरापेको देश’ भन्ने प्रचलित भनाइप्रति प्रश्न गर्दै देशलाई सतीको श्राप नभई भ्रष्ट शासकहरूको गलत नजर लागेको भाव प्रस्तुत गरिएको छ । गीतको दृश्यमा झाँक्रीको प्रतीकमार्फत भ्रष्ट प्रवृत्तिको ‘नजर’ हटाउने प्रयासलाई प्रस्तुत गरिएको छ ।

बिक्रम कार्कीको संगीत रहेको गीतमा ओ नेगेटिभ, राजु एरी र सन्देश पौडेलको स्वर रहेको छ । गीतका शब्द गायक राजु एरी र अभिनेता रवि कार्कीले लेखेका हुन् । गीतको कोरियोग्राफी पनि अभिनेता रवि कार्कीले नै गरेका छन् ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्र ‘चंगुल’ आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकार रिम्शा कार्कीको समेत चलचित्रमा अभिनय रहेको छ ।

चलचित्रका विभिन्न गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् ।

चलचित्रको नाफाको केही हिस्सा घाइते ‘जेन्जी नेपाल’लाई दिने तथा बाढीपीडितको सहयोगका लागि समेत रकम छुट्याउने निर्माण पक्षले बताउँदै आएको छ ।

‘झाँक्री’ गीतले चलचित्रको कथावस्तु र सामाजिक विषयवस्तुको संकेत गर्ने निर्माण पक्षको भनाइ छ । ढ्याङ्ग्रो, र्‍याप र सांकेतिक दृश्यको संयोजनमा तयार गरिएको गीतलाई चलचित्रको प्रचारप्रसारको महत्वपूर्ण हिस्सा मानिएको छ ।

Comments
Related News