अमेरिकाको फोर्ट बर्थमा तीन हप्ते नेपाल शो–२०१७

हाम्रो कला/काठमाडौं

नेपाली चित्रकला, हस्तकला, तस्वीर र डिजिटल स्टोरीसहित अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा तीन हप्ते नेपाल शो–२०१७ गरिने भएको छ ।

स्टोरी साइकल अमेरीका, फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा नेपाल शो हुन लागेको हो । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सौरभ ढकालले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार, विदेशमा नेपालबारे सकारात्मक सन्देश दिन र नेपाली कलाको बजार प्रवद्र्धन गर्नका लागि आयोजित नेपाल शो–२०१७ मा नेपाली चित्रकला, हस्तकला, तस्वीर र डिटिजल स्टोरी प्रदर्शन गरिने छ । प्रदर्शनीमा नेपाली परम्परागत थाङका कला, नेपाली कागजलगायत वस्तु प्रयोग गरी तयार पारिएका हस्तकला, भूकम्पपछिका गाउँका चित्रकला, ग्रामीण जनजीवन र हिमालका तस्वीर राखिने जनाइएको छ ।

“कलाका माध्यमबाट कथा कसरी भन्न सकिन्छ ?”, नेपाल शो–२०१७ एकखालको प्रयोगसमेत भएको चर्चा गर्दै कार्यक्रम संयोजक ढकाल भन्नुहुन्छ–“डिजिटल रुपमा हेरिएका विषयवस्तुजस्तै चित्रकला, हस्तकला, फोटोको भौतिक उपस्थिति शोमा हुनेछ । फरक विधालाई एकैठाउँमा संयोजन गरेका छौँ ।”
प्रदर्शनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिविर र धरण्ीधर स्मृति पुस्तकालय र समृद्ध सिन्धुली अभियानले सिन्धुलीको दुम्जामा संचालन गरेको कला शिविरमा तयार पारिएका चित्रकला राखिने जनाइएको छ । प्रदर्शनीमा सुरेम देशार, अनिल महर्जन र आरके थापाका गरी २७ थान चित्रकलाका साथै टासी लामा र जुनी लामाका १० थान थाङ्का राखिने छन् । फोटोग्राफर नबिन बरालले खिच्नु भएको लमजुङबाट देखिने हिमाल, बारपाक र सगरमाथाका १४ थान तस्वीर, हस्तकला माक्राफ्टेड इन काठमाडौंले सङ्कलन गरेको २५ भन्दा बढी कलाकारको हस्तकला प्रदर्शनीमा राखिने जनाइएको छ । चैत २५ गतेदेखि बैशाख १३ गतेसम्म नेपाल शो सञ्चालन हुने छ । गोरखापत्रमा खबर छ ।

Comments
Related News