आज विश्वभरि १२ औं विश्व रेडियो दिवस मनाइँदै

सिनेपत्र काठमाण्डाैं
आज १३ फेब्रुअरी, “रेडियो र शान्ति” भन्ने नाराका साथ आज विश्वभरि १२ औं विश्व रेडियो दिवस मनाइँदै छ । यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् ।
रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो ।
सन् २०११ मा युनेस्को ले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस को रूपमा मनाउने घोषणा गरेको हो ।
नेपालमा २०४६ सालको परिवर्तनपछि भने रेडियोको विकासका लागि धेरै सकारात्मक प्रयासहरू भएको पाइन्छ । सरकारी तवरबाट २०५२ सालदेखि नै एफएम रेडियो सञ्चालनको अभ्यास भए तापनि गैरसरकारी क्षेत्रबाट भने २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले स्वतन्त्र रेडियो सञ्चालनको इजाजत पाएपश्चात् नै संघसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूका लागि एफएम रेडियो सञ्चालनको ढोका खुला भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ७४० रेडियोले इजाजत पत्र प्राप्त गरेकोमा ७ वटाको भने इजाजत पत्र विविध कारणले रद्द भएको छ । नेपालमा एफएम रेडियो सञ्चालनको करिब दुई दशकपछि राष्ट्रिय आमसञ्चार नीति २०७३ ले पहिलो पटक एफएम रेडियोहरूको परिभाषा र वर्गीकरण गर्यो । जसअनुसार एफएम रेडियो र टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका रूपमा वर्गीकरण गरिएको छ ।


