देहरादुनमा नौमती बजाउँदै लाहुरे

हाम्रो कला/देहरादुन

देहरादुनः  प्रेम थापा उमेरले ६० वर्ष नाघे । उनमा जोस भने युवाको जस्तै छ । भारतीय सेनाका जागिरे उनी अवकाश पाएर बसेका छन् । भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुन उनको स्थायी बसोबास छ । देहरादुन सहरमै गढिक्यान्ट ठाउँ छ।

जहाँ नेपाली भाषीको बाहुल्य छ । उनी त्यही बसोबास गर्छन् । थापा देहरादुनमा बस्न थालेको ३० वर्ष नाघिसक्यो । उनीभन्दा अघिका दुई पुस्ता देहरादुन आएर बस्न थालेका हुन् । नेपालमा बसोबास नगरे पनि उनलाई पुर्खाहरूको थलोको सधैं माया लाग्छ । त्यसैले उनी नेपालको भेषभूषा, भाषा र संस्कृतिको जगेर्नामा सरिक छन्।

भारतीय सेनाको जागिरबाट अवकाश पाए पनि उनी निष्काम बसेका छैनन् । देहरादुनमै आफ्ना पुर्खाको भूमि नेपालका नौमती बाजा र संस्कृति बचाइराख्ने अभियानमा उनी सरिक छन् । पुख्र्यौली घर नेपालको बागलुङ भएका थापा आफ्नो पुख्र्यौली थलो जान नपाए पनि नेपालकै प्रचलित नौमती बाजा संरक्षण गर्न लागि परेका हुन् । ‘यो हाम्रो पुर्खाले जीउज्यान आहुति गरेको ठाउँ हो’, उनले भने, ‘पुर्खाहरू यहाँ आए अंग्रेजसँग लडे, अहिले हामी उनीहरूकै लागि यहाँ बसे पनि आफ्नो संस्कृति छोडेका छैनौं ।’ उनीमात्रै होइनन् सेनाको जागिरबाट अवकाश पाएका अन्य आठजना पनि उनको टोलीमा सामेल छन्।

नौजनाको टोली बनाएर उनीहरूले नौमती बाजा संरक्षण गर्न देहरादुनमा त्यसैको प्रयोग गर्दै आएका छन् । ‘मैले गत वर्षदेखि बाजा बजाउन थालेको हुँ’, केबी गुरुङले भने, ‘सुरुमा कहीँ माग नभए पनि अहिले नेपाली भाषिका साथै भारतीयले आयोजना गर्ने विभिन्न कार्यक्रममा समेत निम्तो आउने गर्छ ।’ अचेल आएर नौमती बाजा त्यस क्षेत्रमा सबैलाई मन पर्न थालेको छ । नौमती बाजामा दुई कर्नल, दुई सनाई, दुई बाजा, एक ढोलक, झ्याली, ठ्याप्पुलगायत छन् । उनी पनि गढिक्यान्टमै बसोबास गर्छन् । ‘सेनाको जागिरबाट अवकाश पाएपछि त्यत्तिकै बस्ने मन लागेन’, गत हप्ता देहरादुन भेटिएका उनले भने, ‘जहाँ बसे पनि हाम्रो पुर्खाहरूको थलो नेपाल हो । हामीले पनि नेपालको भाषा, संस्कृति जोगाउन लाग्नुपर्छ’।

पुख्र्यौली घर बुटवल भएका गढिक्यान्टकै शेरबहादुर पुन पनि अवकाशपछि बाजाको संरक्षणमा लागेका हुन् । सैनिक संरक्षण समिति उत्तराखण्ड संस्था दर्ता नै गरेर आफूहरूले नौमती बाजासँगै नेपालको भेषभूषा र संस्कृति जोगाउन लागेको उनी बताउँछन् । ‘सुरुमा देहरादुनमा बसोबास गर्ने नेपाली भाषी अहिलेको पुस्तालाई जानकारी थिएन्’, उनले भने, ‘हाल आएर बाजाको महत्वव र यसको आवश्यकताबारे सबैले बुझेका छन् ।’ उनले बाजाको महत्वव र आवश्यकता बुझेपछि जहाँ पनि माग बढेको बताए।

देहरादुनमा विभिन्न जातजातिको बसोबास छ । त्यहाँ आ-आफ्नो धर्म, चाडपर्व र भेषभूषामा नेपालीहरू सजिएर विभिन्न समारोहमा सरिक हुने गरेको मगर समाजका प्रेमफुल्ला थापामगरले बताए । उनी पनि सेनाको जागिरबाट अवकाश पाएका व्यक्ति हुन् । उमेरले ८३ वर्ष पुगिसकेका उनले अवकाश पाएकै ३३ वर्ष बितिसक्यो । अझै पनि उनी आफ्ना पुर्खाको संस्कृति जोगाउन खटिने गरेका छन्।

देहरादुनमा आयोजित व्यापार तथा पर्यटन मेलामा भेटिएका उनले भने, ‘नेपाली भाषी हामी सबैले आफ्नो पुर्खाको नासोलाई जोगाउन लागिपरेका छौं ।’ नेपालको बाजागाजा, भेषभूषा तथा संस्कृतिका बारे नयाँ पुस्तालाई जानकारी दिने गरिएको बताए।

बाजामात्रै होइनन् त्यहाँ बस्ने नेपाली भाषी हिन्दु धर्मालम्बीहरूले मनाउने हरेक चाडपर्वसमेत त्यत्तिकै धूमधामसँग मनाउने गरेका छन् । नेपाली मूलका भारतीय नागरिक आफ्नो पुर्खाको जन्मथलो नेपालको भाषा, संस्कृति र चाडपर्वको जगेर्नाका लागि एकताबद्ध भएरै लागेका छन् । देहरादुन दुई सय वर्षअघि वीर बलभद्र कुँवरले अंग्रेजहरूसँग लडाइँ गरेको ठाउँ हो । देहरादुनदेखि पाँच किलोमिटर माथि नालापानी किल्ला छ।

जहाँ वीर बलभद्र कुँवरको नेतृत्वमा गोरखाली सेनाले लडाइँ गरेको थियो । त्यो क्षेत्रको संरक्षण गरेर राखिएको छ । उत्तराखण्डको राजधानी देहरादुनमा नेपाली भाषीको जनसंख्या सात लाख छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

Comments
Related News