१२ वर्षे सिंहस्थ मेला सम्पन्न

हाम्रो कला/ललितपुर

१२ वर्षे सिंहस्थ मेला शनिबार विधिवत् सम्पन्न भएको छ । मेला सञ्चालन समितिले गोदावरीमा रहेको कुण्डमा सरकारी पूजा गरेसँगै समापन भएको संयोजक अजय महर्जनले बताए । ‘भदौ महिनाभर मेला विशेष रूपमा लाग्छ । परम्पराअनुसार १२ महिना चल्छ,’ उनले भने ‘समापन भने साइतअनुसार चैत्र कृष्ण षष्ठीमा गरिएको छ ।’ मेला समापन गर्न हरिसिद्धि मन्दिरबाट पुजारीहरू बाजागाजासहित कुण्ड पुगेका थिए ।

सुरुमा पञ्चामृत र गाईको दूध मूल कुण्डमा अर्पण गरी पुजारीहरूले विधिवत् पूजा गरेका थिए । त्यसपछि ज्येष्ठताका आधारमा क्रमश: द्य:बू (मुख्य पुजारी), च्याबू (व्यवस्थापक) मध्ये मुख्य व्यक्ति गरी सबै पुजारीले स्नान गरे । मेलामा ७ गाउँका भक्तजनले पुजारीलाई फलफूल र भेटी चढाएका थिए । त्यसपछि नवग्रह आहवान गरी देव भोज आयोजना गरिएको थियो । अन्त्यमा पुजारीहरूले प्रसाद वितरण गरेका थिए । हरिसिद्धि भवानी देवीले प्रसाद स्वरूप थलथले बाँड्ने चलन छ । मेला २०७२ भदौमा पुजारीहरूद्वारा स्नान गरी कुण्डको मूल ढोकामा ताला खोलेर सुरु भएको थियो । हरिसिद्धि भवानी देवी फुल्चोकीबाट ल्याइएको मानिन्छ, कान्तिपुर राष्ट्रिय दैनिकमा खवर छापिएको छ ।

 

Comments
Related News