भगवती मानव कल्याण संगठनको पत्रकार सम्मेलन, एक ऋषिको पहिलो नेपाल आगमनमा सबैलाई आह्वान

सिनेपत्र/काठमाण्डौं

आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक “राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर” को निMशुल्क आयोजन गरिएको छ । भगवती मानव कल्याण संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबार र शनिबार पाशुपत क्षेत्र स्थित पार्किङ ग्राउण्डमा कार्यक्रम हुने जनाएको हो । कार्यक्रममा नशामुक्तिका लागि देश–विदेशबाट ३० हजार भन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनका केन्द्रिय प्रवक्ता रमेशचन्द्र मिश्राले बताउनुभयो । उहाँले शिविरमा भगवती मानव कल्याण संगठन एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक–सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको सानिध्यमा देश विदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने दाबी गर्नुभयो ।

यस्तै माता भगवती आदिशक्ति जगत जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको गुढ रहस्यबारे शिविरमा अवगत गराइने संगठनकी नेपाल शाखा प्रमुख डा मिनु सिग्देलले जानकारी दिनुभयो । एक ऋषिको सानिध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एमव् कुण्डली शक्तिको माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवम् दुर्लभ अवसर प्राप्त हुने डा सिग्देलको भनाइ छ।यस शिविरमा उपस्थित जनसमुदायलाई ऋषिवर सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवम् चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उहाले बताउनुभयो ।

दुई दिवसिय कार्यक्रममा पहिलो दिन विहान ७ बजे देखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको संगठनका प्रचारमन्त्री नारायण सेंढाइले जानकारी दिनुभयो । उहाँले दिउँसो २ बजेदेखि ५ बजे सम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने बताउनुभयो ।

यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवम् कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने संगठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिने संगठनले जनाएको छ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने बताइएको छ । निःशुल्क रुपमा नशामुक्त हुन आह्वान गर्दै संगठनले टोल फ्रि नम्बर १८१०५०००१४५ जारी गरेको छ ।

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ । संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको छ । यस्तै संगठनले योग, ध्यान,–साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रुपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Comments
Related News