बालबालिकाहरुमा वढ्दो कार्टुन मोह र त्यसको असर

सिनेपत्र/काठमाण्डौं
प्रसिद्ध अमेरिकी बैंकर हीदी स्टेनलीद्धारा सन् १९९० ताका रचित कृति ‘कलेज फ्रेसमेन’मा लेखेकी छिन “टिभी एउटा यस्तो पार्क हो, जँहा हामी विधालय समयपछि सँधै रमायौ”। आज भोलिका बालबालिकाहरु हिदी स्टेनलीजस्तै स्कूलबाट घर आउने बित्तीकै टिभी (कार्टुन)मा नरमाउने सायदै कम होलान् । हालैका वर्षहरुमा बालबालिकाहरुका लागी कार्टुन मनोरञ्जनको प्रमुख साधनको रुपमा स्थापित भइरहेको छ । गृहिणी महिलाहरुका माझ हिन्दी सिरियल अति लोकप्रिय भए जस्तै बालबालिकाहरुका लागी कार्टुन लोकप्रिय भएको छ । कार्टुन हेर्ने संस्कारकै कारण बालबालिकाद्धारा दिनभर टिभी वा युटुबमा समय बिताउने कुरा हाम्रो लागी अब नौलो रहेन । बिहान उठनासाथ र राती सुत्नुअघि बालबालिकाहरु कार्टुनमा रमाउछन् । विधालयको गृहकार्य गर्ने समयमा पनि कतिपय बालबालिकाहरुलाई कार्टुन लगाइदिनु पर्छ । अन्यथा स्कुलको गृहकार्य गदिर्न भनि घुर्की लगाउछन् । यस्तो अवस्थामा अधिकांश अभिवाक कार्टनु हेर्न दिनुनै उत्तम ठान्दछन् । तर ति बालबालिकाहरुले हेर्ने कार्टुन कतिको बालमैत्री छ वा छैन यस बारे अभिभावकको ध्यान बिरलै जाने गर्दछ ।
त्यसैगरि कतिपय घरहरुमा अभिभावकले टिभीमा प्रसारित हत्या, हिंसा, युद्ध, अपराध र यौनजन्य कार्यक्रम र्हेदैगर्दा छेउमा बसेर सो कार्यक्रम नियालीरहेका कलिला बालबालिकाहरुमा के कति नकारात्मक असर पर्न सक्ला भनेर लेखाजोखा नभएको अवस्था छ । गम्भिर विषयवस्तुलाई सही ढङ्गले लेखाजोखा नगर्नु नेपाली समाजका लागी सामान्य हुन सक्छ । तर संयुत राज्य अमेरिकाको सिनसिनाटी क्षेत्रमा कार्यरत मनोविज्ञ डायना फिसरले आफ्ना ८ र १० वर्षका छोराहरुद्धारा कसैलाई मारपिट गर्ने गोप्य योजनाबारे चालपाउना साथ एउटा कुरा सम्झिन । जुन उनले भुलवश ति बालकहरुका लागि हिंसात्मक कार्टुन ल्याइदिएकी थिइन् । आफ्ना दुई छोराहरुले हेरिरहेको हिंसात्मक टिभी कार्यक्रम अक्स्मात बन्द गर्दै डायाना फिसरले भनिन् “हाम्रो घरमा कुनै किसिमको हत्या, हिंसाजन्य मनोरञ्जनात्मक टिभी कार्यक्रम वन्देज छ ।”
नेपालमा लोकप्रिय कार्टनुहरु

नेपालमा कलिला बालबालिकाहरुले अत्याधिक रुचाउने कार्टुनहरु क्रमश “मोटु और पत्लु”, “सिवा” र “क्रिस” हुन । यि तिनै कार्टुनहरु भनेपछि हाम्रा बालबालिकाहरु हुरुक्कै हुन्छन् । यि कार्टुनहरु प्रतिको क्रेज नेपालमा दिन दुइ गुणा र रात चार गुणा जस्तै बढ्दो छ । साथै कार्टुनमा बोलिने हिन्दी शब्द र देखिने चित्रहरुले बालबालिकाहरुमा अमिट छाप पार्न सफल भएको छ । यदाकदा अभिभावकहरुद्धारा राष्ट्रिय पत्रपत्रिकाहरुमा आफ्ना बालबच्चाहरुले कार्टुन हेरी नेपाली भाषा भन्दा विदेशी भाषा बोल्न सिकेको भन्ने कुरा सबैमा जगजाहेरनै छ। अतहः कुनैपनि कार्टुन हाम्रो देशमा लोकप्रिय हुनु र बालबालिकाले औधी मनपराउनु आफैमा सराहनीय कुरा हो। तर ति कार्टुनहरुले कालान्तरमा पार्ने प्रभावबारे अभिभावकहरु अमेरिकी मनोविज्ञ डायाना फिसर जस्तै चनाखो हुन जरुरी छ । अन्यथा धेरै ढिलो भइसकेको हुनेछ । सारमा यी तिनै कार्टुनहरुद्धारा नैतिक शिक्षाको पाठ पढाएता पनि यिनमा राखिएका ७० देखि ९०% हिंसात्मकदृश्य र अन्तरक्रियाले के कस्तो नकारात्मक असर पार्न सक्दछ । यसबारे हामी अभिभावक अहिले जागरुप नभए कहिले हुने?
नैतिकताको पाठ सिकाउने नाममा क्रिस र सिवा जस्ता कार्टुनहरुले प्रत्येक ६० सेकेण्डमा हिंसा र द्धन्दको सहारा लिएको छ । कार्टुन क्रिसमा गुरु कंश र चेला क्रिस विच अन्नत समयसम्म चलिरहने मारपिट, छलकपटका घटनालाई प्रस्तुत गरिएको छ । अर्को तर्फ कार्टुन सिवामा एउटा अद्भुत बालक ‘सिवा’ लाई मुख्य पात्र बनाइएको छ । जोसगँ एउटा चामत्कारीक साइकल हुन्छ । जसलाई सिवा गुडाउन र उडाउन दुवै सक्दछ । यस कार्टुनमा सिवाले प्रहरीद्धारा गर्न नसक्ने र असम्भवप्राय कामगरी प्रहरीलाई मदत गरिरहन्छ । तर सो कार्यका लागी पनि चर्को रुपमा हिंसालाई नै प्रसय दिएको छ ।
अब कुरा गरौ मोटु और पत्लुको । यस पक्तिकारले अघिल्लो हरफहरुमा उक्त कार्टुनको लोकप्रियता बारे जानकारी गराइसकेको छ । यो कार्टुन बालबालिकाहरुले रुचाइएको यस्तो कार्टुन हो जसमा एकजना पनि बाल कलाकार पाइदैन । अर्थात सम्पूर्ण कलाकार व्यस्क मात्र । विशेषगरि दुई साथी मोटु र पत्लुले आफ्नो गाउँ फुरफुरी नगरमा भए गरेका अपराधजन्य घटनाहरुलाई निस्तेज पार्न हर सम्भव प्रयासरत रहन्छन् । अपराधीहरुसँग लड्ने भिड्ने कार्यमा पनि यि दुई पात्रहरुलाई नै मुख्य भूमिका दिइएको छ । समोसा खाए पछि असामान्य शक्ति प्राप्त गर्ने मोटु र जस्तो सुकै अप्ठ्यारो परिस्थितीमा आइडिया (दिमाग) लगाउन सक्ने पत्लु विचको केमेस्टी (जोडी) अद्भुत रुपमा प्रस्तुत गरिएको छ । यसका बावजुत यो कार्टुनले पनि अत्याधिक हिंसाजन्य घटनालाई नै उच्च प्राथमिकता दिएको पाइन्छ । सिवा र व्रिmस जस्तै मोटु और पत्लुले नैतिक शिक्षा दिने नाममा हिंसालाई नै विकाउ र प्रभावकारी माध्यम बनाएको छ ।
अति हिंसाजन्य कार्टुन :
क्र.स. कार्टुन हिंसाजन्य दृश्य र अन्तरक्रिया (%)
१. सिवा ८०–९०%
२. क्रिस ६०–८५%
३. मोटु और पत्लु ६०–८०%
हिंसाजन्य कार्टुनहरुका विकल्प ?
आफ्ना बालबालिकाहरुलाई चरम हिंसाजन्य कार्टुनको कुलतबाट छुट्टाउन हामीसँग अनेकौ विकल्पहरु छन् । मोटु और पत्लु, सिवा र क्रिस जस्ता कार्टुन हेरिरहेका बालबालिकाहरुलाई अकस्मात उक्त कार्यक्रम माथि बन्देज लगाउदा बालबालिकहरु अवश्य असन्तुष्ट हुन्छन् । केही दिन वा हप्ता अभिभावकहरुले बालबालिकाहरुबाट अप्ठ्यारो परिस्थितीको सामना गर्न पर्दछ । तथापी हिंसाजन्य कार्टुनबाट उनीहरुलाई मुक्ति दिलाउन सकिन्छ । जुन प्रत्येक अभिभवाकको कर्तव्य हो । यसको अर्थ बालबालिकाहरु माथि सबै कार्टुन वन्देज लगाउनु होइन । हामीले आफ्ना बालबालिकाहरुलाई न्यून हिंसाजन्य निन्जा हतौडी, हेनरी, मासा एण्ड द वियर, ओगी एण्ड कोकरोजेज, सन् द सिप, लार्भा , पकडम पकडायी र चार्ली जस्ता कार्टुन हेर्न प्रेरित गर्नु श्रेयकर हुनेछ ।

यि कार्टुनहरुमध्ये पनि निन्जा हतौडी बालबालिकाहरुको लागि सर्वोत्तम कार्टुनकै श्रेणीमा राख्दा खासै फरक नर्पला । यस कार्टुनको प्रमुख विशेषता भनेको मुख्य पात्र बाल कलाकार हुनु । पारिवारिक एवम् विधालय परिवेशलाई प्राथमिकता दिनु । बालबालिकाहरुलाई नैतिक शिक्षा दिनु तर हिंसाजन्य घटनालाई अत्यन्त कम प्राथमिता दिनु हो ।
न्यून हिंसाजन्य कार्टुन :
क्र.स. कार्टुन हिंसाजन्य दृश्य र अन्तरक्रिया (%)
१. निन्जा हटौडी १०–१५%
२. ओगी एण्ड कोकरोजेस् १०–१५%
३. चार्ली ५–१०%
४. पकडम पकडायी ५–१०%
५. हेनरी ५–१०%
६. मासा एण्ड द वियर १–३%
७. लार्भा १–३%
८. सन् द सिप १–३%
“मासा एण्ड द वियर” यो कार्टुन विश्वका २५ प्रमुख भाषाहरुमा ट्रान्सलेसन गरिएको र १००औं देशहरुमा प्रसारण हुन्छ । बालबालिकाहरुका लागि रोचक लाग्ने यस कार्टुनका मुख्य दुई कलाकार मासा र वियर हुन् । ‘मासा’ रसियन केटी हुन् । यिनी जङ्गलको छेउमा बस्छिन् । यि पात्रको स्वभाव दयालु, चतुर र चकचके हुन्छ । प्राय यिनको चकचके स्वभावकै कारण यिनले कामहरु विगारी रहन्छिन् । ‘वियर’ यस कार्टुनको दोस्रो पात्र हुन् । निकै ठूलो शरिरको यि भालु अति नै भलादमी र उदार दिलका हुन्छन् । यिनले मासाद्धारा विगारेका सम्पूर्ण कामहरुलाई बनाउने गर्दछन् । कतिपय अवस्थामा वियरले मासालाई उदार गर्ने क्रममा अप्ठ्यारो अवस्थाको सामना गर्नु पर्दछ ।
(प्रस्तुतकर्ता सुधिरमान सिंह बि .के. खाती अग्रेजी केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौंमा पी.एच.डी अध्ययनरत छन् ।)


